प्रश्नपत्र हुबहु प्रकरणको छानबिन गर्न त्रिविले बनायो समिति

लोकपथ
56
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ ।

रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्राडा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए ।

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिष्ट्रार प्राडा दाहालले छानबिन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो ।

मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको छ ।

त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन लगाए पनि प्रश्नपत्र सेट गर्नेको लापरबाहीका कारण अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?