सुर्खेत । भनिन्छ, ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ कुनै पनि काम गर्न मनैदेखि इच्छा भए जस्तोसुकै अप्ठ्यारा समस्या पनि पूरा गर्न सकिन्छ ।
हुम्लाको दुर्गम ठाउँ सर्केगाड गाउँपालिका–४ दुलीका छक्क थापाले यो भनाइलाई प्रमाणित गरिदिएका छन् । जस्तो नाम उस्तै काम । उनले सबैलाई छक्क पर्ने काम गरेका छन् ।
२५ वर्षीय छक्कले कक्षा एकदेखि एसएलसीसम्म गाउँकै विद्यालयमा पढे । जहाँ रहे पनि उनले मिहिनेतलाई भने आफ्नो दिनचर्या बनाए । अभावैअभाव र विकटताको भुँमरीका बीच ०६८ सालमा उनले एसएलसी दिए ।
उनी सम्झन्छन्, ‘रातभर दियालो, झोरो, टुकी बालेर रात कटाउँथ्यौँ । तर मिहिनेत गर्न छाडिनँ ।’
पढाइमा निकै चासो र मिहिनेत गर्ने उनी १ देखि १० कक्षासम्म सधैँ फस्ट सेकेन्ड भए । उनले एसएलसी पनि प्रथम श्रेणीमै पास गरे । उनको मिहिनेत र लगनशीलबाट उनी अहिले डाक्टार बनेका छन् । वीपी प्रतिष्ठान मेमोरियल कलेज धरानबाट उनले एमबीबीएस पास गरेका हुन् ।
हुम्लादेखि काठमाडौंसम्मको संघर्षदायी यात्रा
छक्कको हुम्लादेखि काठमाडौंसम्मको यात्रा निकै संघर्षदायी छ । शहर र मोटरगाडी कहिल्यै नदेखेका छक्कका लागि काठमाडौं पुग्नु मात्रै पनि सपना थियो । सपनामा मात्रै देखेका सहरका ठुला ठुला घर, चिल्ला सडक र गाडीमोटर काठमाडौंमा उनले आँखैअघि देखे । शहरमा भएर पनि उनी ठूलो मान्छे बनेर आफ्नै ठाउँमा कहिले फर्कन पाइएला भनेर सोचमग्न हुन्थे । उनीसँग सोच्नबाहेक अरु कुनै उपाय थिएन । घरको आर्थिक अवस्था कमजोर थियो ।
छक्कलाई डाक्टर पढ्न फलामको चिउरा चपाउनुजत्तिकै थियो । तर ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै । घरवरपरका छरछिमेकबाट सय, हजार सक्ने जति सहयोग जुटाएर १६ वर्षीय छक्क पैदलै सुर्खेत पुगे । सुर्खेतदेखि बसमा काठमाडौँ पुगे ।
‘सुर्खेत आउनुअघिसम्म न त कुनै मोटर देखेको थिएँ’, उनले भने, ‘मेरा लागि सबै नयाँ थिए ।’ सर्केगाड–४ का दुलीका छरछिमेकले सहयोग जुटाएर बिदाई गर्दा नै डाक्टर बनेर यो ठाउँमा आउनुपर्छ भनेर अठोट गरेको र जुन अहिले पूरा भएको उनले बताए ।
काठमाडौं पुग्दा आर्थिक समस्या
छक्क काठमाडौं त पुगे तर गाउँमा जस्तै सहरका सबै मानिस मनकारी उनले पाएनन् । काठमाडौं पुग्न जति कठिन थियो पुगेर पढ्न झनै गाह्रो भएको उनले सुनाए । उनले भने, ‘आर्थिक संकट त कति हो कति झेल्नु पर्याे । कहिले त बीचमै पढाइ छोडौं लाग्थ्यो । तर फेरि हुम्लाबासीको दुःख आँखामा आइहाल्थ्यो ।’
उनी पढाइ खर्च जुटाउन जागिर खोज्दै हिँडे । लामो प्रयासपछि अन्तः एउटा एनजिओमा काम पाए । दिउँसो एनजीओका काम र साँझबिहान पढेर उनले लक्ष्य पूरा गरे ।
छक्कको लक्ष्य
छक्कको लक्ष्य भनेको अब दुर्गम हुम्लावासीका पीडामा मलम लगाउनु मात्रै हो । हरेक पाटोबाट विकट हुम्लाका बासिन्दका घाउमा मलम लगाउँदै दुर्गमलाई सुगम बनाउने उनको लक्ष्य छ । उनले भने, ‘मेरो एउटै लक्ष्य र उद्देश्य भनेको हुम्लामै बसेर यहाँका मानिसको घाउमा मलम लगाउने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया