१८ औँ ‘एशियाड’ : नेपाली भलिबल टिम चाइनिज ताइपेइसँग पराजित

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपालको पुरुष भलिबल टिम पराजित भएको छ । 

समूह ‘डी’ को पहिलो खेलमा नेपाल चाइनिज ताइपेइसँग ३-० को सोझो सेटमा पराजित भएको हो । खेलको पहिलो सेटमा नेपाली टिमले ताइपेईलाई निक्कै कडा टक्कर दिएको थियो ।

पहिलो सेट नेपालले २३-२५ स्कोरले गुमायो । त्यस्तै, दोस्रो सेटमा चाइनिज ताइपेइले नेपाली टोलीलाई २५-१९ स्कोरले हरायो ।

खेलको अन्तिम सेट २५-१५ स्कोरमा ताइपेईले नेपाललाई पराजित गर्‍यो । यि दुई टिमबीचको खेल एक घण्टा ११ मिनेट चलेको थियो ।

हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक जगदीशप्रसाद भट्टले  बताए । ‘चाइनिज ताइपेइ हामीभन्दा निकै बलियो टोली हो, हारे पनि हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो ।’ उनले लोकपथलाई भने । 

अब नेपालले दोस्रो खेल शुक्रवार दक्षिण कोरियाविरुद्ध खेल्नेछ । 

एशियाली खेलकूद प्रतियोगितामा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूदमा सहभागिता जनाएको हो । 

नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो ।

नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरबबहादुर बम र विशालबहादुर विक रहेका छन् ।

प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोन्जे तथा व्यवस्थापकमा भरतबहादुर शाह रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?