काठमाडौं । साहरा क्लबका प्रशिक्षक किरण श्रेष्ठ राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ बिहीवार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो ।
श्रेष्ठ बिहीवारै पोखराबाट काठमाडौं आएको पनि एन्फाले बताएको छ । जावालाखेल युथ क्लबका पूर्व कप्तान समेत रहेका श्रेष्ठले बुधवार मात्रै मुख्य प्रशिक्षकमा नियुक्त भएका बाल गोपाल महर्जनको सहायक प्रशिक्षक भएर राष्ट्रिय टिम सम्हाल्नेछन् ।
ए डिभिजन क्लब हिमालयन शेर्पाको प्रशिक्षक भएर काम गरिसकेका उनले कास्की जिल्लाका साना खेलाडीहरुलाई प्रशिक्षण दिदैं आइरहेका थिए ।
भदौ १९ देखि बंगलादेशमा शुरु हुने साफ च्याम्पियनसिपका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँदा एन्फाले महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए ।
सन् १९९३ मा नेपालले ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा महर्जन टोलीका सदस्य थिए । त्यसपछि सन् २००० को दशकमा महर्जनले स्थानीय क्लब ब्रदर्स युनियनबाट व्यवसायिक क्लब फुटबल खेलेका थिए ।
बालगोपाल महर्जनको प्रशिक्षणमा सन् २०१६ मा नेपालले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।
नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेलमा भुटान र अन्तिम खेलमा आयोजक बंगलादेश नेपालसँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया