जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’मा नेपालका दुई एथ्लेटिक्स खेलाडीले भाग लिने मौका गुमाएका छन् ।
महिला १० हजार मिटरमा विशवरुपा बुढा र पुरुष ४ सय मिटरमा सोम बहादुर कुमालले ढिलो इन्ट्री गरेको कारणले सो विधामा सहभागी हुनबाट बञ्चित भएका हुन् ।
नेपाल एथ्लेटिक्स संघले सोमबहादुरले पुरुषको ४ सय मिटर र ८ सय मिटरमा प्रतिस्पर्धा गर्ने जनाएको थियो । दुवै खेलाडीले समान एक-एक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ ।
१८ औँ ‘एशियाड’को अफिसियल साइटमा पनि विश्वरुपाको १० हजार मिटरमा नाम थिएन। इन्ट्री गर्ने ओलम्पिक किमिटीले तथा एथ्लेटिक्सका अफिसियलहरुले समयमा नै खेलाडीको नाम इन्ट्री भएको वा नभएको बारे ध्यान नदिँदा दुवै खेलाडीहरुले सहभागी हुने मौका गुमाएका हुन् ।
एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले महिला खेलाडी विश्वरुपालाई रंगशाला भित्र पठाएपनि भाग लिन नपाएको जानकारी दिइन् । यता, १० हजार मिटरको दौड गुमाएकी विश्वरुपाले ५ हजार मिटर दौडमा राम्रो प्रर्दशन गर्ने बताइन् ।
‘मेरो मुख्य विधा भनेको नै ५ हजार मिटर हो । यो विधामा म राम्रो नजिता ल्याउने प्रयास गर्नेछु । अब मेरो त्यसमै फोकस हुन्छ ।’ उनले भनिन् ।
यता नेपाल ओललम्पिक कमिटीका प्रमुख कार्यकारी सचिव सुजनलाल श्रेष्ठले विश्वरुपाको बैकदा रुपमा नाम दर्ता गरेको दाबी गरेका छन् ।
‘हामीले विश्वरुपाको नाम नेपालबाटै इन्ट्री गरेको थियो । तर, यहाँ टेक्सिनल समस्याका कारण उनले खेल्न पाइनन् । यसमा हामी सबैजना दुखी छौँ । टेक्निकल समस्याका कारण यस्तो भएको हो । हाम्रो कुनै गल्ति छैन् ।’ उनले भने ।
यता, सोमबहादुरको भने अन्तिम समयमा खेल्न चाहेकाले नाम इन्ट्री गर्न नमिलेको प्रमुख कार्यकारी सचिव श्रेष्ठले जानकारी दिए ।
पहिले ८ सय मिटर मात्र खेल्ने भनेका सोमबहादुरले अन्तिम समयमा ४ सय मिटरमा पनि खेल्ने भनेका कारण नाम दर्ता गर्न नमिलेको श्रेष्ठले बताए ।
महिला १० हजार मिटरमा ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धामा किर्गिस्तानकी डारिया मास्लोभाले स्वर्ण पदक जित्न सफल भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया