भोक र नपूंसक सरकार !

                                                            – चन्द्र गुरूङ

धेरै दिन भयो
पाकेको छैन एकछाक भात
कोठा-कुनामा घोप्टिएको थोत्रो भाँडो झैं 
एउटा बाँझो गर्भाशयले 
धारण गर्न सकेको छैन नयाँ भ्रूण ।

धेरै दिन भयो
सल्बलाएका छैनन् सम्भावनाहरु
कोठा-कुनामा थन्किएको अन्नको रितो थैलो झैं 
एउटा वीर्यहीन अण्डकोष
असमर्थ छ नौलो जीवनको सृजना गर्न ।

धेरै दिन भयो
पाएको छैन आगोले आगोसित सम्भोग गर्न
कोठा-कुनामा चुपचाप चूलो झैं
एउटा चिसो ओछ्यान
बन्न सकेको छैन यौवनपूर्ण क्रिडास्थल ।

र,
त्यो थोत्रो भाँडो
त्यो रितो थैलो
त्यो चिसो चूलो
एकसाथ गिज्जयाउँदै छन् भोक झैँ लाचार 
नपूंसक सरकारलाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?