विश्वविद्यालयमा हुने तालाबन्दी हटाउने शिक्षामन्त्रीको प्रतिबद्धता

लोकपथ
0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।

मन्त्री पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परिक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठन सम्बन्धि उठाएका अन्य मागहरुको सम्बोधन गर्न गम्भिर छलफल र संवाद भईरहेको बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरुले राखेको धारणा जायज रहेको प्रतिक्रिया समेत दिए ।

मन्त्री पौडेलले सांसदहरुले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराए ।

उनले भने, ‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमती र संवादको माध्यामबाट हल गर्ने हो । चाबी लगाउने, तालाबन्दी गर्ने, डिष्टर्व गर्ने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई डिष्टर्व गर्ने कुरा राम्रो हुँदैन । त्यसकारणले हामी अहिले रहेका कतिपय विश्वविद्यालयहरु बन्ने क्रममा रहेका छन र, चालू रहेका विश्वविद्यालयहरुलाई उनीहरुको परीक्षा प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नको निम्ति हामी उनीहरुसँग गम्भिर रुपमा छलफल, संवाद र कुराकानीमा छौं र लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि यसैसँग सम्बन्धित रहेर सदनमा नै यो विषयमा कुरा उठेको हुनाले कतिपय तालाबन्दी गर्ने पक्षलाई पनि नैतिक दवाव भएको हुनाले अहिले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुमा तालाबन्दी छैन र, यो तालाबन्दी नहोस् भन्ने कुरा जुन उठाएको छ, त्यो जायज कुरा हो ।’

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटकपटक दोहार्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?