काठमाडौं । चालू आर्थिक वर्ष २०७८ / २०७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर नेपाल भित्रिएको हो ।
सो अवधिमा विश्वका १७ वटा देशबाट ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँको राइस कुकर नेपालले आयात गरेको छ । उक्त मूल्यमा नेपालमा ३ लाख ८० हजार ७७२ थान राइस कुकर भित्रिएका छन् ।
पछिल्लो एघार महिनामा नेपालले बहराइन, ब्रुनाई, क्यानडा, चीन, हङकङ, भारत, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंङ्गापुर, थाइल्याण्ड, युनाइटेड अबर इमिरेट्स र भियतनामबाट राइस कुकर आयात गरेको छ ।
नेपालमा सबैभन्दा बढी राइस कुकर चीन, भारत र दक्षिण कोरियाबाट आउने गरेको छ । उक्त अवधिमा चीनबाट ४६ करोड २६ लाख ६८ हजार रुपैयाँ, भारतबाट २ करोड ६५ लाख ४९ हजार रुपैयाँ र कोरियाबाट १ करोड ३५ लाख ४२ हजार रुपैयाँको राइस कुकर आएको छ ।
अघिल्लो आर्थिक २०७७ /२०७८ मा १८ देशबाट नेपालमा ४४ करोड ९१ लाख २६ हजार रुपैयाँको राइस कुकर भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया