काठमाडौं । महिला भलिबल लिग असोज दोस्रो सातादेखि काठमाडौंमा हुने भएको छ ।
नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।
प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यू डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपीएफ र पोखरा छन् । लिगको विजेताले ६ लाख, उपविजेताले ३ लाख तथा तेस्रो हुनेले एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यो भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित ५० हजार पुरस्कार प्रदान गरिने भएको छ ।
सोमबार एक कार्यक्रमका बीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी टोलीले तीन/तीन विदेशी खेलाडीसमेत राख्न पाउने भएका छन् । प्रतियोगिता आयोजना गर्न सङ्घ र आधीअबाधीबीच गत साउन १७ गते दश वर्षका लागि सम्झौता भएको थियो ।
सो सम्झौताअनुसार आधीअबाधीले नेपाल भलिबल सङ्घलाई प्रत्येक वर्ष १५ लाख प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया