देशको ढुकुटीमा अब ७ महिना मात्र आयात धान्ने विदेशी मुद्रा बाँकी

लोकपथ
35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी मुद्राको सञ्चिती बढाउन अत्यावश्यक वस्तु तथा सेवा बाहेकको आयातमा कडाई गरे पनि अपेक्षा गरे अनुसारको विदेशी मुद्राको सञ्चिती बढ्न नसकेको देखिएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिती सम्बन्धि चालू आर्थिक वर्षको ११ महिनाको प्रतिवेदन अनुसार पनि विदेशी मुद्राको सञ्चिती अपेक्षा गरे अनुसारको सुधार नदेखिएको हो ।

प्रतिवेदन अनुसार २०७८ असारमसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले घटेर २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई नौ अर्ब ४५ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ ।

राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरुसंग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा छ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ । २०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?