फ्राइडे रिलिज: पूजाको ‘रामकहानी’ हेर्ने कि प्रदीपको ‘रोज’?

काठमाडौं । साउनदेखि बढी चर्चामा आएका दुई फिल्म ‘रोज’ र ‘रामकहानी’ आज शुक्रवारबाट रिलिज हुँदै छन् । प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘रोज’ र पूजा शर्मा अभिनित चलचित्र ‘रामकहानी’ रिलिज एकसाथ भएपछि दर्शक बडो कन्फ्युजमा छन् – कुन फिल्म हेर्ने?

दर्शकले ‘प्रेमगीत’ मा मन पराएको जोडी फरक–फरक फिल्मबाट यतिबेला जुधिरहेका छन् । दुई फरक विधाका फिल्ममा कुन हेर्ने भन्नेमा कन्फ्युज हुनुहुन्छ भने तपाईंले यी दुई चलचित्रमा एक यसरी छान्न सक्नुहुन्छः

रोज

रिलिज हुने समयदेखि नै विवादमा आइरहेको यो फिल्म बडो सकसले हलसम्म आइपुगेको छ । सुन्नमा आए अनुसार यो फिल्म रिलिजको दिनसम्म पनि कथा चोरिएको भनेर विवादमा तानिएको थियो ।

हलमा रिलिज भइरहेको यो थ्रीलर फिल्ममा आफ्नै प्रेमिकाको हत्या गर्न तयार हुने युवकको कथा छ । सस्पेन्स थ्रीलर मन पराउने दर्शकका लागि यो सिनेमा राम्रै खुराक बन्न सक्छ । यसमाथि फिल्ममा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काले अभिनय गरेका छन् । उनको फ्यान क्रेजले पनि सिनेमाले हाइप पाएको  छ ।

निरक पौडेलले निर्देशन गरेको यो चलचित्रमा मिरुना मगर, कर्मा, परमिता राना लगायतका कलाकारले अभिनय गरेका छन् ।

रामकहानी

चलचित्र ‘रामकहानी’ पूजा शर्माका कारणले मात्र चर्चामा छैन । सुदर्शन थापाको निर्देशनले पनि एक खालको चर्चा पाएको छ । अर्कातिर कमेडी कलाकार जितु नेपाल र केदार घिमिरे पनि यसको प्रचारमा खुलेर लागेका छन् । यी दुईले समेत फिल्म हलसम्म दर्शक तान्ने देखिन्छ । हुन त फिल्मको ट्रेलर विदेशी फिल्मको ट्रेलरबाट कपी गरिएको भनेर विभिन्न माध्यममा समाचार पनि आइरहेका थिए ।

तर पनि कमेडी फिल्म रुचाउने दर्शकका लागि भने यो फिल्म केही आशालाग्दो सिनेमा बन्ने देखिन्छ । ट्रेलर र एक गीतबाट राम्रै चर्चा पाएको फिल्ममा अभिनेता आकाश श्रेष्ठ पनि छन् ।

कमेडी फिल्म मन पराउने दर्शकले रुचाउन सक्ने यो फिल्म पूजा शर्माका कारणले भन्दा पनि केदार र जितु हुनाका कारणले चल्नसक्ने देखिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?