काठमाडौं । बंगलादेशमा जारी ‘साफ’ च्याम्पियनसिप अन्तर्गत शनिवार नेपालले समूहको अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।
राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुने अन्तिम खेलमा बंगलादेशलाई हराए नेपालले सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो ।
जारी प्रतियोगितामा बंगलादेशले ३ गोल गरेको छ भने एक गोल पनि खाएको छैन् । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बंगलादेशविरुद्ध गोल गर्न निक्कै कठिन देखिन्छ।
शुक्रवार ढाकामा पत्रकारहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बंगलादेशविरुद्धको खेल नेपालले जित्नै पर्ने बताए ।
कप्तान महर्जनले साफ च्याम्पियनसीप अन्तर्गत समूह चरणको तेस्रो खेल खेलाडीका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको जानकारी दिए ।
बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो । समूहको अर्को खेलमा आयोजक बंगलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना नेपालकै खेलमा निर्भर रहनेछ ।
दोस्रो चरणको खेल सकिँदा अंक तालिकामा बंगलादेश २ खेलमा ६ अंक बटुल्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको २ खेलमा ३ अंक छ । नेपालले २ खेल मध्ये एकमा हार र एकमा जित निकाल्दै ३ अंककासाथ समूहको तेस्रो स्थानमा छ ।
समूहको पुछारमा रहेको भुटान अंक विहिन छ । दुई खेलमा हार बेहोरेको भुटान समूह चरणबाटै बाहिरिसकेको छ ।
नेपाललाई सेमिफाइनलमा पुग्न पहिलो विकल्प बंगलादेशविरुद्ध स्पष्ट जीत हासिल गर्नु पर्नेछ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको बिजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ ।
भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बंगलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि अर्को खेलमा पाकिस्तानले जीते नेपाललले बंगलादेशविरुद्ध जीत निकाल्नै पर्ने हुन्छ ।
यदि शनिबार हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित गर्यो र नेपाल बङ्गादेशसँग हार्यो भने पाकिस्तान र बंगलादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ ।
समग्रमा बंगलादेशलाई बराबरी अथवा जीतले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जीत दर्ता गरे अर्को चरण पुग्ने पक्का छ ।
बंगलादेशले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो जीत निकालिसकेको छ । अब समूहको अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया