काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रका लागि त्यति सुखद देखिएन । आर्थिक वर्षको सुरुवातदेखि अन्त्यसम्म नै बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता अभाव) देखियो । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले लिएको लक्ष्य अनुसार कर्जा लगानी गर्न सकेनन् ।
राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमा १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो । तर सो अवधिमा १२ प्रतिशत मात्र कर्जा विस्तार भएको छ ।
असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँको कर्जा विस्तार गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष ४ खर्ब ५४ अर्ब कर्जा विस्तार भएको छ ।
बैकहरुको निक्षेप संकलन कर्जा विस्तारभन्दा कम देखिएको छ ।गत आर्थिक वर्षमा ३ खर्ब ४० अर्ब रुपैयाँ मात्र निक्षेप संकलन थपिएको छ । असार मसान्तसम्म बैंकहरुले ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
नबिल बैंक अगाडि
२७ वटा वाणिज्य बैंकहरुमध्ये गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यवसाय विस्तार गर्नेमा नबिल बैंक अगाडि देखिएको छ । यस अवधिमा बैंक निक्षेप संकलन र कर्जा विस्तार दुवैमा अब्बल देखिएको छ । बैंकले असार मसान्तसम्म ३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९ अर्ब रुपैयाँको कर्जा परिचालन गरेको छ । २०७८ असार मसान्तसम्मको तुलनामा बैंकले १ खर्ब १ अर्ब निक्षेप थपेको छ भने १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप परिचालन बढाएको छ ।नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार समेत सुरु गरिसकेको छ ।
त्यस्तै, दोस्रोमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६८ अर्ब रुपैयाँको निक्षेप परिचालन गरेको छ । तर अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले यस अवधिमा कर्जा परिचालन भने ३ अर्ब रुपैयाँले बढाएको छ ।
ग्लोबल आईएमई बैंकले पनि एनआईसी एसियालाई पछ्याउँदै २ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । ग्लोबल आईएमईले सो अवधिमा २ खर्ब ४२ अर्ब रुपैयाँको कर्जा विस्तार गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले पनि यस अवधिमा २ खर्ब ५६ अर्ब रुपैयाँको निक्षेप संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलनमा ७ अर्ब रुपैयाँले कमि आएको छ । गत आर्थिक वर्षमा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।
विशेष गरी यी ४ बैंकबीच निक्षेप संकलन र कर्जा परिचालनमा तिब्र प्रतिस्पर्धा देखिएको छ ।यी ४ बैंकले २ अर्बभन्दा बढीको निक्षेप संकलन गरेका छन् ।
निक्षेपतर्फ
नेपाल राष्ट्र बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँको निक्षेप संकलन रहेको छ भने सिद्धार्थ बैंकले १ खर्ब ९६ अर्बको निक्षेप संकलन गरेको छ । गत असार मसान्तसम्म एनएमबि बैंकले १ खर्ब ८६ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ८६ अर्ब, कुमारी बैंकले १ खर्ब ८२ अर्ब, प्रभु बैंकले १ खर्व ८२ अर्ब, एभरेष्ट बैंकले १ खर्ब ७३ अर्ब र हिमालयन बैंकले १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यसैगरी, कृषि विकास बैंकले १ खर्ब ६६ अर्ब प्राइम कमर्सियल बैंकले १ खर्ब ६५ अर्ब, सानिमा बैंकले १ खर्ब ५८ अर्ब, मेगा बैंकले १ खर्ब ५६ अर्ब र सिटिजन बैंकले एक खर्ब ५५ अर्ब रुपैयाँ संकलन गरेको छ ।
माछापुछ्रे बैंक एनसीसी बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, नेपाल एसबिआई बैंक, बैंक अफा काठमान्डू, स्ट्याण्डर्ड चाटर्ड बैंक, सेन्चुरी कमर्सियल बैंकले डेढ खर्बभन्दा कम निक्षेप संकलन गरेको छ । सिभिल बैंकले भने सबैभन्दा कम ९६ अर्ब मात्र निक्षेप संकलन गरेको छ ।
कर्जातर्फ
सिद्धार्थ बैंकले गत असार मसान्तसम्म १ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै एनएमबिले एक खर्ब ८२ अर्ब, नेपाल बैंकले एक खर्ब ८० अर्ब, कृषि विकास बैंकले एक खर्ब ७८ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकले एक खर्ब ६८ अर्ब, कुमारीले एक खर्ब ५९ अर्ब, हिमालयनले एक खर्ब ५६ अर्ब, एभरेस्ट र प्राइमले एक खर्ब ५४ अर्ब, प्रभु र मेगा बैंकले एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरेका छन् ।
अन्य बैंकहरुले डेढ अर्बभन्दा कम निक्षेप परिचालन गरेका छन् । सबैभन्दा कम निक्षेप परिचालन गर्नेमा पनि सिभिल बैंकनै रहेको छ । बैंकले ८७ अर्ब रुपैयाँ मात्र निक्षेप परिचालन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया