काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जारी साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सलाई पराजित गर्ने रणनीति बनाइसकेको बताएका छन् ।
राजधानी ढाकामा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत यहि बुधवार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सविरुद्धको खेलअघि सोमवार अभ्यासका दौरान प्रशिक्षक महर्जनले माल्दिभ्ससँगको खेल खेल्न नेपाली टिम तयार रहेको समेत बताए ।
‘माल्दिभ्स पनि बलियो टिम नै हो । यसअघि भएको खेलमा नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन् । तर, यसपटक माल्दिभ्सलाई हराउन हाम्रो टिम तयार छ ।’ उनले लोकपथलाई भने ।
‘धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौँ । माल्दिभ्स राम्रो टिममा नै गनिन्छ । उनीहरुलाई हामीले कमजोर मानेका छैनौँ । उनीहरुको केहि खेलाडी महत्वपूर्ण छन् । तर, उनीहरुको दुई खेल हेरेको छु । त्यहि अनुसार रणनीति बनाएको छु । उनीहरुलाई हराउन मैले २,३ रणनीति बनाएको छु ।’ उनले थपे ।
साथै, प्रशिक्षक महर्जनले नेपालले जारी साफमा गोल गर्न सफल भइसकेको समेत जानकारी दिए । ‘हाम्रो टिमले यसअघि नै गोलको खडेरी तोडिसकेका छौँ । आशा गरौँ माल्दिभ्सविरुद्धको खेलको नतिजा नेपालको पक्षमा आउनेछ ।’ उनले बताए ।
साथै, प्रशिक्षक महर्जनले माल्दिभ्सविरुद्ध खेल नेपालको लागि सहज हुने जानकारी दिए ।
चौथो पटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपाल नयाँ इतिहास बनाउने दाउमा रहेको छ । समूहको तिन खेलमध्ये एकमा हार र दुई खेलमा जीत हात पार्दै नेपाल समूह ‘ए’को विजेता बन्दै अन्तिम चारका पुगेको हो । यता, माल्दिभ्स समूह ‘बी’को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा भारतले पाकिस्तानसँग भिड्नेछ ।
समूह चरणको दुई खेलमा एक बराबरीका कारण माल्दिभ्स टसमा भाग्यमानी बन्दै सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्सले श्रीलंकासँग गोल रहित बराबरीमा अंक बाँढेको थियो भने भारतसँग २–० को हार ब्यहोरोको थियो ।
साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म जम्मा ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । समग्रमा भने नेपाल र माल्दिभ्स १५ पटक खेलेका छन् ।
नेपालले चार खेल जितेको छ भने सात खेलमा पराजय भोगेको छ । बाँकी चार खेल बराबरीमा सकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया