बंगलादेश । पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किएका मिडफिल्डर निराजन खड्काले जारी साफ च्याम्पियनसिपको उपाधि जित्दै देशको लागि गर्व महसुस गराउने चाहना भएको बताएका छन् ।
लामो समयपछि राष्ट्रिय टिममा पूनरागमन गरेका मिडफिल्डर खड्काले जारी साफलाई पनि बिर्सन नसकिने जानकारी दिए ।
यहि बुधवार हुने माल्दिभ्सविरुद्धको सेमिफाइनलमा खेलाडीले खेल जित्न सतप्रतिशत मेहेनत गर्ने पनि उनले बताए । ‘हाम्रो टिमले आफ्नो ठाँउबाट १०० प्रतिशत दिइरहेका छौँ, आशा गरौं माल्दिभ्सविरुद्धको खेलमा पनि हामी जीत हात पार्नेछौँ । हामी मैदानमा गएर जति सक्छौ । रगत पसिना बगाएर देशलाई गर्व गराउने मौका दिनेछौँ ।’ उनले भने ।
निराजन सन् २०१३ पछि साफ च्याम्पियनसिपबाट राष्ट्रिय टिममा पूनरागमन गरेका हुन् ।
‘खेलाडीको लागि लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेर गोल गर्नु जतिको खुशी अरु हुनै सक्दैन । म एकदमै खुशी छु ।’ उनले थपे ।
निराजनले २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । झन्डै पाँच वर्ष राष्ट्रिय टिममा बिताएका उनी पुन राष्ट्रिय टिममा फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया