‘नाडा अटो मेला’ मंगलवारदेखि काठमाडौंमा शुरु, ५ अर्ब रुपैयाँ कारोबार गर्ने लक्ष्य

काठमाडौं । ५ अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्यसहित अटोमोबाईल्स एसोसिएन अफ नेपाल (नाडा)को आयोजनामा भोली (मंगलबार)देखि ‘नाडा अटो मेला’ शुरु हुँदैछ । 

काठमाडौंको भृकुटीमण्डपमा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुककै सवैभन्दा ठूलो गाडी खरिद बिक्री मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेला आयोजना गर्नका लागि सवै तयारी पुरा भएको ‘नाडा’का उपाध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । 

४ महिनामा हुने कारोबार मेला अवधि (६ दिनभित्रै) गरिसक्ने दाबी गरेको ‘नाडा’ले यो गाडी मेलामा ६२ हजार नागरिकले अवलोकन गर्ने दाबी गरेको छ । नाडाका उपाध्यक्ष दुलाले ६ दिनभित्र ५ अर्ब रुपैयाँको कारोबार हुने अनुमान रहेको बताए ।
 
राजधानीमा सोमवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने ‘सवारीसाधन खरिद र बिक्री गर्न ७१ वटा संस्थाहरुले अटो मेलामा सहभागीता जनाउँदैछन्, १ सय ३५ वटा स्टलबाट सबारीसाधन खरिद–बिक्री गर्दैछौं ।’

सवारीसाधन होईन, सडकको क्षमता कम भयो

नाडा उपाध्यक्ष दुलालले नेपालमा सवारीसाधनको संख्या कम रहेको जनाउँदै सडकको क्षमताभन्दा गाडीहरु बढि नभएको बताएका छन् । 

हाल १ प्रतिशत नेपालीको मात्र गाडीमा पहुंच भएको जनाउँदै दुलालले आवश्यकताअनुसार सडक पूर्वाधार विस्तार गर्न सरकारले धेरै काम गर्नुपर्ने बताए । 

देशमा स्तरीय र राम्रा सडक नभएको र भएका सडकको पनि समयमै मर्मतसम्भार नभएकाले उपत्यकामा सवारी जाम भईरहेकाले गाडी बढि भएको प्रतिक्रिया आएको, तर फराकिला सडकमा गाडी किनेर चढ्ने जनताको अधिकार प्रत्याभूत गराउनतर्फ लाग्नुपर्ने दुलालको भनाई छ । 

सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्दै अटोमोबाईल क्षेत्रको विकास गर्नुपर्ने र सडकको स्तरोन्नति गर्नुपर्ने दुलालले बताए । गाडी बेच्ने र किन्ने मात्रै आफुहरुको लक्ष्य नभएको बताउँदै उनले सडकको वातावरण पनि स्वच्छ बनाउन नाडाले जोड दिईरहेको जानकारी दिए ।

गत बर्षको मेलामा साढे ३ अर्ब रुपैयाँको कारोबार

गत बर्ष भएको नाडा अटो मेलामा झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको सवारीसाधन खरिदबिक्री कारोबार भएको नाडाले जानकारी दिएको छ । 

नाडाले सवारी साधनसम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यले प्रत्येक बर्ष नाडा अटो मेला आयोजना गर्दै आएको छ । नाडाको अटो मेलालाई नेपालमा गाडीहरुको कुम्भ मेलाका रुपमा समेत लिने गरिन्छ । सवै नेपाली नागरिकलाई अटो मेलाको अवलोकन गर्न समे आग्रह गरेको छ ।  

अटो मोबाईल क्षेत्रबाट ३५ प्रतिशत राजस्व

सरकारको बार्षिक आम्दानीमध्ये सवारीसाधन खरिद बिक्रीबाट मात्रै ३५ प्रतिशत राजस्व उठ्ने गरेको छ । 

चर्को कर र भन्सारका कारणले १ प्रतिशत नागरिकले मात्रै व्यक्तिगत सवारीसाधन प्रयोग गरिरहेकाले अबका दिनमा सवारीसाधनलाई सर्वसाधारण जनताको पहुँचसम्म पुर्‍याउन आवश्यक पहल गर्न नाडाले सरकारलाई अनुरोध गरिरहेको छ । 

१० लाख रुपैयाँमा राम्रो गाडी चढ्ने स्थिती बनेमा करिब ५० प्रतिशत नागरिकले गाडी चढ्न सक्ने नाडाको आंकलन छ । नाडाका महासचिव सुनिल रिजालले नेपालमा गाडी उत्पादन गर्नेतर्फ सरकारले गम्भीरताका साथ सोच्नुपर्ने बताए ।

सवारीसाधनका पाटपूर्जा उत्पादन गर्ने उद्योगहरु खुलेकाले अब छिट्टै सवारीसाधन नै उत्पादन गर्ने उद्योग खोलिने उनले जानकारी दिए । 

सर्वसाधारणलाई प्रवेश शुल्क २ सय रुपैयाँ, विद्यार्थीले १ सय ५० मै मेला हेर्न पाउने
सर्वसाधारणले २ रुपैयाँ प्रवेश शुल्क तिरेर सर्वसाधारणले नाडा अटो मेला अवलोकलन गर्न पाउने भएका छन् । विद्यार्थीले भने १ सय ५० रुपैयाँमै मेला हेर्न सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?