काठमाडौं । बंगलादेशमा जारी १२ औँ ‘साफ’ च्याम्पियनसीप अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ ।
यी दुई टिमबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयानुसार दिउँसो पौने ४ बजेपछि शुरु हुँदैछ । २५ वर्षे ‘साफ’ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनलमा नेपालका लागि इतिहास रच्ने अवसर छ ।
अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके जारी ‘साफ’ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने छ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टिमका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ ।
यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।
समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल यात्रा तय गरेको हो ।
नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक आमने-सामने भएका छन् । जसमध्ये चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो ।
नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ । साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो । नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितविहीन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
‘धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौँ, अब माल्दिभ्ससँंग खेल्नुपर्नेछ, माल्दिभ्स राम्रो टोली हो, उनीहरूलाई कमजोर मान्नु हुन्न’ प्रशिक्षक बालगोपाल महर्जनले भने ।
नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध चार खेल खेलेको छ । जसमा नेपालले एकमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ । माल्दिभ्सविरुद्ध नेपालका पूर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन् । त्यस्तै नवयुग श्रेष्ठले तीन गोल गरेका छन् ।
नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बंगबन्धु गोल्डकप फुटबल हो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।
दोस्रो सेमिफाइलनमा भारत–पाकिस्तान आमने-सामने हुँदै
बुधवार साँझ हुने दोस्रो सेमिफाइनल खेलमा भारत र पाकिस्तान प्रतिष्पर्धा गर्दैछ ।
सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसीपको उपाधि जितिसकेका छन् ।
नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया