व्यापार घाटा कम गर्न करमा वृद्धि गरेको हुँ : अर्थमन्त्री (तस्वीर सहित)

काठमाडौं । अटोमोबाईल्स एसोसिएन अफ नेपाल ‘नाडा’को आयोजनामा मंगलबारदेखि काठमाडौंमा  ‘नाडा अटो मेला’ शुरु भएको छ । 

५ अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको ‘नाडा अटो मेला’को अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रमकाबीच उदघाटन गरेका थिए । मन्त्री खतिवडाले व्यापार घाटा कम गर्न अटो मोबाइल क्षेत्रमा कर बढाएको बताए । 

उनले भने ‘व्यापार घाटा बढाउन अटो मोबाइल क्षेत्रले पनि सहयोग गरेको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले कर बढाएको हो ।’

मन्त्री खतिवडाले ऋणमा आधारित उपभोगले आर्थिक विकास नहुने पनि जानकारी दिए । साथै, आम्दानीमा आधारित उपभोग वृद्धिले मात्रै अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने पनि बताए ।  ‘अहिले सडक बनाउन राजस्व चाहिएको अवस्था छ । राजस्वको आधार ठुलो पनि हुनुपर्यो । यसैकारण राजस्वमा वृद्धि गरेको हो।’ उनले बताए । 

व्यवसायीहरुले बैंकको कर्जामा कडाई हुँदा गाडीको बिक्रीमा कमी आएको गुनासोहरु पोख्दै आइरहेका छन् । तर, मन्त्री खतिवडाले भने बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रणालीमा आवश्यकता अनुसार खुकुलो र कडा नीति लिइने बताए । 

उनले देश आर्थिक विकासको चरणमा प्रवेश गर्दै गर्दा ऋणको माग हुने हुँदा यसले बैंकिङ क्षेत्रमा तरलताको समस्या देखा परेको जानकारी दिए ।  यता, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको बताइन् । 

‘देशको व्यापार घाटा बढ्यो भनिरहँदा सरकारले अटोमोवाइलको विकास तथा निर्माणको लागि केही सहुलियत दिइरहेको छ।’ उनले बताइन् । 

साथै, अध्यक्ष राणाले विद्युतीय सवारी साधनको प्रयोग बढाउन चार्जिङ स्टेसनको निर्माण गरे व्यापार घाटा कम गर्न सहयोग पुग्ने पनि जानकारी दिइन् ।  कार्यक्रममा नाडा अटो मोवाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोवाइलमा अत्याधिक करमा वद्धि गर्दा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?