काठमाडौँ : नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ ।
प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।
सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षको चार महिनामा पाँच लाख २६ हजार ६६४ सवारीसाधनका धनी तथा चालकलाई कारबाही गरिएको थियो । प्रहरीले चार महिनामा एक हजार ९१९ किलो गाँजा बरामद गरेको छ । गत वर्ष सो अवधिमा ७०६ किलो गाँजा बरामद गरेको थियो । यस्तै चरेश ३४० किलो, हिरोइन दुई किलो र अफिम ११ किलो बरामद गरेको छ ।
प्रहरीले विभिन्न प्रकारका अवैध हातहतियार १०३ थान र गोली १६९ थान बरामद गरेको छ । गत वर्षको चार महिनामा हातहतियार ७५ थान र गोली ८६ थान बरामद गरिएको थियो । प्रहरी प्रवक्ता क्षेत्री गत वर्षको तुलनामा यस वर्ष आपराधिक गतिविधि बढेको बताउँछन् । “प्रहरीको सक्रियता त बढेकै छ, तर सँगसँगै आपराधिक क्रियाकलाप गर्नेको सङ्ख्यासमेत बढेको पाइयो”, उनले भने।
चार महिनाको अवधिमा दुई हजार १८१ प्रहरीको बढुवा, २४ हजार ६१३ प्रहरीको सरुवा, एक हजार ३५३ प्रहरी पुरस्कृत तथा ४९५ प्रहरीलाई सजाय दिइएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयबाट जारी गरेका गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गरेका १० बुँदे प्राथमिकतालाई आधार मानेर काम गरेका कारण प्रहरीले ठूलो सफलता प्राप्त गरेको प्रवक्ता क्षेत्री बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया