‘युइएफए’ नेसन्स लिगमा क्रोशिया पराजित, स्पेन फराकिलो गोल अन्तरले विजयी

एजेन्सी । युइएफए नेसन्स लिग फुटबल अन्तर्गत रसिया विश्वकपको उपविजेता टिम क्रोशिया पराजित भएको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा क्रोशिया स्पेनसँग ६-० गोल अन्तरले पराजित भएको हो । गत शनिवार भएको खेलमा इंग्ल्याण्डसँग २-१ गोल अन्तरले पराजित भएको स्पेनले क्रोशियालाई पराजित गर्दै लिगमा लगातार दोस्रो जीत हात पारेको हो । 

खेलको २४ औँ मिनेटमा स्पेनका लागि सोल निगुरेजले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, ३३ औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै खेललाई २-० को स्थितीमा ल्याए । 

३५ औँ मिनेटमा क्रोशियाका लोभ्रो कालिनिकले आत्मघाती गोल गरे । खेलको पहिलो हाफसम्म ३-० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्‍यो ।

४८ औँ मिनेटमा रोड्रिगोले गोल गरे । एक पक्षिय रहेको खेलको ५७ औँ मिनेटमा कप्तान सर्जियो रामोसले गोल गरे । ७० औँ मिनेटमा इस्कोले गोल गर्दै खेललाई ६-० को स्थितीमा पुर्‍याए ।

निर्धारित समयसम्म क्रोशियाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल ६-० गुमायो । 

क्रोशियाले व्यहोरेको यो नै ठूलो हार हो । जितपछि स्पेन ६ अंक बनाएको छ ।

त्यस्तै, मंगलवार राति नै भएको अर्को खेलमा बेल्जियमले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्‍यो । बेल्जियमलाई जीत दिलाउन खेलको २९ औँ मिनेटमा इर्डेन हजार्डले पेनाल्टीमार्फत, रोमेलु लुकाकुले दुई गोल गरेका थिए । लुकाकुले खेलको ३१ औँ र ८१ औँ मिनेटमा दुई गोल गरे । 

मंगलवार राति नै भएका अन्य खेलहरुमा हंगेरीले ग्रिसलाई २-१ गोल अन्तरले, बोस्निया हर्जगोभिनाले अस्ट्रियालाई १-० गोलले तथा लक्जमबर्गले सान मारिनोलाई ३-० गोल अन्तरले हराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?