तीन नायिकासँग तीज विशेष कुराकानी, को को व्रत बसे?

काठमाडौं । आज (बुधवार) काठमाडौंमा हरितालिका तीजको अवसरमा महिलाहरु रातो सारीमा चिटिक्क परेर हिँडडुल गर्नेको सङ्ख्या बाक्लो थियो । महिलालाई मात्र होइन, तीजको रौनकले कतिपय पुरुष पनि विभिन्न स्थानमा हुने तीज कार्यक्रममा नाचिरहेका देखिन्थे ।

तीजले आम महिलालाई जस्तै कलाकारलाई पनि उत्तिकै छोएको छ । तर, सबैका लागि तीजको रौनक खुशी साट्ने मौका भने बन्न सकेको छैन । तीज लागिरहे पनि केही कलाकार आफ्नो फिल्मको प्रचारका लागि विभिन्न स्थानमा पुगेका छन् भने केही कलाकार फिल्मको छायांकनमा व्यस्त देखिएका छन् ।

यसपटकको तीज कसरी मनाउँदै हुनुहुन्छ भनेर हामीले तीन प्रतिनिधि कलाकारलाई सोधेका थियौँ ।

दीपाश्री निरौला, निर्देशक/कलाकार

निर्देशक दीपाश्री निरौला तीजको अवसर पारेर व्रतसमेत बसेकी छिन् । तर उनको व्रत निराहार व्रत भने होइन । नुन नखाने व्रत । ‘भगवानप्रति निकै आस्था छ, कामको प्रेसरले गर्दा खाना नखाई व्रत बस्ने गरेकी छैन, तर आजको दिन नुन भने खाँदिन, बिहान पनि पूजा गरेर मात्र खाने खाने गर्छु’, उनले लोकपथलाई भनिन्, ‘हामीले भगवानप्रति विश्वास गर्नुपर्छ, म आफूले हिन्दूका हरेक चाडलाई पूर्ण विश्वासका साथ मान्ने गर्छु ।’

दीपाश्रीलाई लाग्छ, सत्कर्म गर्नेलाई भगवानले सधै आशीर्वाद दिनुहुन्छ । उनी पूजा गर्न छक्का पञ्जा टिमसँग पशुपतिनाथ मन्दिर पनि पुगिन् । ‘तीज हाम्रा लागि विशेष चाड हो, नेपालमा मात्र होइन, विदेशमा हुने नेपालीले पनि यो चाडलाई उत्तिकै श्रद्धाका साथ मनाउनुहुन्छ ।’, उनले भनिन् ।

सुरक्षा पन्त, नायिका

पछिल्लो समय फिल्म ‘गोपी’ मा व्यस्त नायिका सुरक्षा पन्त यसपटक भने व्रत बसेकी छैनिन् । त्यसो त उनी अहिलेसम्म पर्व पारेर व्रत बसेकी छैनिन् तर उनलाई परिवारसँग नाच्न र गाउनमा भने उनलाई रुचि लाग्ने गर्छ ।

‘व्रत चाहिँ अहिलेसम्म बसेकी छैन, यसपटक त झन् आज टोखामा फिल्म ‘गोपी’ को छायांकन छ, यतै व्यस्त भएँ’, उनले भनिन्, ‘व्रत बसेर पति पाइन्छ जस्तो लाग्दैन, तर अरु महिलाले देखाएको श्रद्धाको चाहिँ उत्तिकै सम्मान गर्छु ।’

वर्षा शिवाकोटी, नायिका

वर्षा शिवाकोटीले पनि तीजलाई खासै महत्त्वका साथ हेर्ने त गर्दिनन् । तर यसपटक भने उनी व्रत बसेकी छिन् । उनको घरमा आफन्त जम्मा हुँदैछन् । तिनै आफन्तसँग उनले तीज सेलिब्रेसन गरिन् ।

‘पहिलोपटक व्रत बसेकी छु, घरमै पूजा पनि भइरहेकोे छ, तर उद्देश्य केही छैन’, वर्षाले भनिन्, ‘आफन्तहरु पनि घरमै आउनुभएको छ, घरमा रमझम छ आज ।’

तीजको अवसर पारेर घरमा रमाइलो गरे पनि तीजको रौनकताले भने खासै छोएको छैन उनलाई । ‘व्रत बस्नु स्वास्थ्यका लागि पनि रमाइलो हो भन्ने लागेर व्रत बसेँ ।’, उनले सुनाइन् ।

यस्तै अन्य महिला कलाकारले पनि तीजलाई विशेष चाडका रुपमा मनाएका छन् । कतिपय कलाकार कामको सिलसिलाले व्यस्त भए पनि धेरैले भने तीजमा व्रत नै बसेका छन् । करिष्मा मानन्धरले पनि सामाजिक सञ्जालमा तीज विशेष तस्वीर शेयर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?