फाइनलमा पुग्दै इतिहास रच्ने नेपालको सपना चकनाचुर, माल्दिभ्सले मार्‍यो बाजी

बंगलादेश । माल्दिभ्स जारी साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

राजधानी ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा बुधवार भएको खेलमा माल्दिभ्सले नेपाललाई हराउँदै अन्तिम दुईको स्थान तय गरेको हो । 

खेल शुरु भएको ९ मिनेट पनि बित्न नपाउँदै नेपालले गोल खान पुग्यो । माल्दिभ्सका कप्तान इब्राहिम हसन वाहिदले फ्रि-किक सहि दिशा दिर्दै गोलपोष्टको चाली चुमाए ।  १२ औँ मिनेटमा नेपालले फ्रि—किक हान्ने मौका पायो । तर, बिमल घर्तिमगरको प्रहार बाहिरियो ।

१७ औँ मिनेटमा नेपालका सुजल श्रेष्ठको प्रहार माल्दिभ्सका गोलकिपर मोहमेद फैसलले सहजै नियन्त्रणमा लिए । त्यस्तै, २२ औँ मिनेटमा सुनिल बलले फ्रि-किकबाट हानेको बल गोलपोष्टमाथि बाहिरिएको थियो ।

२७ औँ मिनेटको खेल चलिरहदा ‘थण्डर स्ट्रोम’का कारण खेल स्थगित भएको थियो । वर्षा कम भएपछि पुनः खेल सञ्चालन गरिएको थियो । 

प्रतिस्पर्धात्मक खेलको ३७ औँ मिनेटमा  दिनेश राजवंशीको क्रसमा भरत खवास गोल गर्नबाट चुके । खेलको पहिलो हाफसम्म नेपाल माल्दिभ्सभन्दा एक—शुन्य गोल अन्तरले पछाडि रहेको थियो । दोस्रो हाफको शुरुमा नै माल्दिभ्सले खेलमा दोब्बर अग्रता बनाउने मौका गुमायो ।

५० औँ मिनेटमा माल्दिभ्सका खेलाडी वान भर्सेस वानमा गोल गर्न चुके ।

 ६२ औँ मिनेटमा नेपालका विमलले दिएको बललार्इ सुजल श्रेष्ठले प्रहार गरेका थिए तर, माल्दिभ्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे । खेलको ८४ औँ मिनेटमा माल्दिभ्सका असदुल्ला अब्दुल्लाहले गोल गर्दै खेललाई २-० को स्थितीमा पुर्‍याए ।

नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै ८७ औँ मिनेटमा माल्दिभ्सका कप्तान इब्राहिमले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । 

त्यसपछि खेलमा थप गोल भएन् र खेल माल्दिभ्सले ३-० ले जित्यो । हारसँगै नेपालको साफ च्याम्पियनसिप फाइनल खेल्ने सपना यसपटकका लागि पनि अधुरो बनेको छ ।  

समूह चरणमा एक गोल पनि हान्न नसकेको माल्दिभ्स भने जितपछि फाइनलमा प्रवेश गरेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?