भारतका मदिरा कारोबारी माल्याले देश छोड्नु अघि वित्तमन्त्रीसँग भेटेको खुलासा

एजेन्सी:भारतका विभिन्न बैंकहरूबाट करिब ९ हजार करोड भारु ऋण लिएर बेलायत फरार भएका मदिरा कारोबारी विजय माल्याले देश छोड्नु अघि वित्तमन्त्री अरूण जेटलीसँग भेटेर बैंकको ऋण मिलाउन चाहेको खुलाए पछि जेटली विभिन्न पार्टी र नेताहरूको वाक आक्रमणमा परेका छन् ।

लन्डनको अदालतमा माल्यालाई भारत सुपुर्दगी गर्न हुने नहुने विषयमा भइरहेको सुनुवाईका क्रममा पुगेका माल्याले संवाददाताहरू समक्ष यस्तो बताए । भारतीय नियोगहरूले माल्यालाई देश फर्काउन त्यहाँको अदालतमा सुपुर्दगीसम्बन्धी मुद्दा दायर गरेका थिए ।

माल्याले भने “ आफू एक पूर्व निर्धारित बैठकका लागि जेनेभा जानु अघि वित्तमन्त्रीसँग भेट गरेको थिएँ ।”

माल्याको यो खुलासा भएपछि यसलाई अस्वीकार गर्दै फ्याक्चुअल सिचुएशन शीर्षकमा फेसबुकमा वित्तमन्त्री जेटलीले एक लामो सफाइ प्रस्तुत गरेका छन् । उनले माल्याको दाबीमा सत्यता नभएको उल्लेख गरेका हुन् । 

जेटलीले भनेका छन् –“ यो तथ्यात्मक रूपमा गÞलत छ । अनि यो सत्यलाई दर्शाउँदैन् । २०१४देखि उनलाई मैले भेटघाटको कुनै समय उपलब्ध गराएको छैन् । यस्तोमा मसँग भेटघाटको कुरोको सवाल नै छैन् । तरपनि उनी राज्यसभाका सदस्य थिए ।

कहिलेकाहीं सदनमा आउनेजाने गर्ने गरेका थिए । उनले त्यो विशेषाधिकारलाई दुरूपयोग गर्दै जब म सदनको कारबाही सकेर आफ्नो कक्षतर्फ गइरहेका बेला उनी मेरा समक्ष आए र हिँडदाहिँडदै म कर्जा चुक्ता गर्न एक अफर दिइरहेको बताए ।

उनले पहिला पनि यस्तो चाल चलेको बारेमा आफू जानकार भएकाले मैले कुराकानीलाई इनकार गर्दै भने “मसँग कुराकानी गरी कुनै फाइदा हुँदैन, यो अफर बैंकलाई दिनुपर्छ ।” उनले हातमा लिएको कागज लिन इनकार गरे ।”

अदालतमा माल्याको सुपुर्दगीबारे १० डिसेम्बरको फैसला हुने भएको छ। यो मुद्दा १९ महिनादेखि चलिरहेको छ ।
माल्याले गरेको खुलासपछि 

कांग्रेसका वरिष्ठ नेता अभिषेक मनु सिंघवीले यसको जाँच हुनुपर्ने माग गरेका छन् । अर्का कांग्रेसी नेता रणदीप सिंह सुरजेवालाले विजय माल्या विदाई लिएर देशको पैसा लिएर भागेका हुन् । सरकार चौकीदार नभएर भागीदार बनेको ट्विटरमा उल्लेख गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले ट्विटमा अहिलेसम्म वित्तमन्त्रीले यो कुरो लुकाउनु आफैमा आश्चर्यको विषय भएको उल्लेख गरेका छन् ।

यतिमात्रै होइन यसअघि भाजपाकै सांसद सुब्रमण्यम स्वामीले गरेको पुरानो ट्विट फेरि नयाँ भएर सार्वजनिक हुन पुगको हो ।

त्यसमा भनिएको छ “ “माल्या देश छाड्न सक्दैनन किनभने देशका विमानस्थलहरूमा उनका खिलाफ  लुक आउट नोटिस जारी भइसकेको थियो ।

यसका बाबजुत उनी दिल्ली आउँछन् कुनै  पावरफुल व्यक्तिलाई भेट्छन् ,जारी लुक आउट नोटिसमा फेरबदल गराउँछन र भारत छोड्न रोक आदेशको ठाउँमा रिपोर्टिंग आदेश गराउँछन् ।

त्यो पावरफुल व्यक्ति को हुन् जसले नोटिसलाई कमजोर पा-यो?”

पूर्व वित्तमन्त्री यशवन्त सिन्हाले पनि माल्यसँगको सम्बन्धबारे सत्य बोल्नु पर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?