हिन्दू मन्दिरको बलिप्रथामा रोक लगाउँदै श्रीलंका

एजेन्सी : श्रीलंकाको सरकारले हिन्दु मन्दिरमा दिइने पशु बलि प्रथामा रोक लगाउन लागेको छ ।

यसमा हिन्दु समुदायका व्यक्तिहरूसँग छलफल गर्दा अधिकांश उदारवादी हिन्दुहरूले समर्थन जनाएको सरकारको तर्फबाट जनाइएको छ ।

बीबीसीसँगको कुराकानीमा श्रीलंकाली सरकारका प्रवक्ताले हिन्दु धार्मिक मामिला मन्त्रालयको यो प्रस्तावमा अधिकांश उदारवादी समूहको समर्थन रहेको जनाए ।

केही हिन्दु देवीदेवताहरूको मन्दिरमा देवीदेवता प्रसन्न गराउन बोका ,खसी, राँगा र कुखराको बलि दिइने गरिन्छ ।

श्रीलंका बौद्ध धर्मावलम्बी बहुल देश हो । त्यहाँ बौद्ध धर्मावलम्बीहरूले यसको विरोध गर्दै आएका छन् ।

आलोचकहरूले मन्दिरमा जनावरको बलि दिइने प्रथालाई अमानवीय भनी आलोचना गर्ने गरेका छन् ।

हिन्दुका अतिरिक्त यहाँ मुसलमानले पनि पशु बलि दिने गर्छन् ।

तर हिन्दुहरूले यो प्रतिबन्धबाट उनीहरूको धार्मिक स्वतन्त्रता समाप्त हुने बताएका छन् । उनीहरूले यो प्रथा प्रचीनकाल देखि जारी रहेकोले यसमा प्रतिबन्ध लगाउन नहुने तर्क गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?