पुनः बहालीको माग गर्दै करार कर्मचारीको धर्ना

लोकपथ
56
Shares

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरु पुनः बहालीको माग राख्दै धर्ना बसेका छन् । कविलासी नगर कार्यपालिकाको गत असार १२ गते बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेर निर्णय गरेको थियो ।

उक्त निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरुप्रति अन्याय भएको भन्दै निर्णय सच्याएर पुनः पदबहाली गर्नुपर्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् । म्याद थप तथा करार नवीकरण नहुने भनि निर्णय भएकोप्रति असन्तुष्टि जनाउँदै विगत ६ दिनदेखि नगरपालिका कार्यालय अगाडि शान्तिपूर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरुले समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कविलासी नगरपालिकाले कुनै अग्रिम सूचना बिना नै, कार्यसम्पादन तथा कार्यमूल्यांकनको आधारसमेत नमानि राजनीतिक प्रतिशोधका कारण करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने काम गरेको करार कर्मचारी गगनदेव राउतले बताए । उनले सबै ठाउँमा धाएपनि आफूहरुको सुनुवाई कसैले नगरेको बताए ।

स्थानीय तहमा सरकारमा परिवर्तन हुने बित्तिकै करारका कर्मचारीलाई हटाएर आफनो नातागोता, पार्टीका कार्यकर्तालाई राख्ने प्रवृति भइरहेको अखिल नेपाल अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमीक संघ मधेश प्रदेशका संयोजक लालबाबु यादवले बताए । उनले यस्तो प्रवृतिको अन्त्य हुनुपर्न धारणा राखे । कर्मचारी कुनै पार्टीको नभइ सरकारको भएकोले सत्ता परिवर्तन हुँदैमा कर्मचारी निकाल्नु नहुने बताए ।

करारका कर्मचारी हटाएर पुनः नयाँ करारमै कर्मचारी नियुक्ति गर्न खोज्दा स्थानीय सरकारको नियतमाथि शंका देखिएका करार कर्मचारी फवेन्द्र यादवले बताए । नगरभित्र स्थानीय सरकार निर्माण भन्दा अघिदेखि नै कर्मचारी विभिन्न क्षेत्रमा कार्यरत रहेका र ती सबै बेरोजगार भएको भन्दै ती सबैलाई हटाएर पुनः करारमै मेयरले आफ्नो मान्छेलाई नियुक्ति गर्न खोजेको आरोप समेत लगाए ।

स्थानीय सरकारले करारको ठाउँमा स्थायी कर्मचारी ल्याएर पदको परिपूर्ति गरे आफूहरुको कुनै आपत्ति नरहेको जिकिर गरे । करार तथा ज्यालादारी कर्मचारीले यसअघि नै आफ्ना माग पूरा गर्न नगरप्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सर्लाही, कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ सर्लाही लगायतका निकायहरुमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

सर्लाहीका स्थानीय तहले करारमा कार्यरत कर्मचारीलाई धमाधम कामबाट निकाल्न थालेका छन् । सर्लाहीका मलंगवा नगरपालिका, कविलासी नगरपालिका बलरा नगरपालिका, धनकौल गाउँपालिका र हरिपुर नगरपालिका लगायत आधा दर्जन भन्दा बढी गाउँपालिकाले करार कर्मचारीलाई हटाउने निर्णय गरेका छन् ।

करार र ज्यालादारी कर्मचारीको असार ३२ गतेबाट सम्झौता म्याद सकिएको छ । साउन १ गते हिजैदेखि उनीहरुको म्याद थप तथा नवीकरण नगर्ने भनी कार्यपालिका बैठकबाट निर्णय गरिसकेका छन् । हटाइएका करार तथा ज्यालादारीका कर्मचारीको स्थानमा केही स्थायी कर्मचारी आइसकेका र रिक्त रहेको ठाउँहरुको बारेमा अर्को निर्णय भइसकेको छैन ।

यसअघिका जनप्रतिनिधिले आफू निकट र आफ्नो दलका कार्यकर्तालाई करार कर्मचारीको रुपमा नियुक्ति दिएको भन्दै बलरा नगरपालिकाले उनीहरुको म्याद नथप्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?