बन्धक बनाई फिरौती माग गरेको अभियोगमा छ जना पक्राउ

लोकपथ
42
Shares

दाङ । प्रहरीले फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख रूपैयाँ फिरौती माग गरेको अभियोगमा प्रहरीले मंगलबार दिउसो उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका–७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका–६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुँवर र तुलसीपुर उपमहानगरपालिका–७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् ।

सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनु डाईभरलाई तपाईको नम्बर दिन्छु भनि बताएको र केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश–०१–२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई र घटनामा प्रयोग भएको गाडी सहित पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?