काठमाडौं । उन्नाइस वर्षीय निकिता शर्मा अहिले आफ्ना आमाबुबासँग मैतीदेवीमा बस्छिन् । परिवारसँग बस्न पाएकोमा उनी प्रफुल्लित छिन् ।
यो खुशी पाएको जम्मा दुई वर्ष भयो उनले । बाल्यकालमा बितेको होस्टेलको जिन्दगीले निकितालाई अहिले पनि बेलाबेलामा चिसो बनाउँछ ।
‘परिवारसँग बस्दा छुट्टै आनन्द आउँदो रहेछ, जीवनमा सबथोक पाएजस्तो ।’, उनले मुस्कुराउँदै सुनाउँदै थिइन् ।
परिवारको साथ अरुभन्दा खास लाग्नुको पछाडि कारण छ । कारण खुलाउँदै उनले सुनाइन्, ‘झण्डै एघार वर्षसम्म होस्टेलमा बसेँ, दुई वर्ष त भयो परिवारसँग बस्न थालेको ।’
निकिताका आमाबुबा दुवै राति अबेरसम्म काममा व्यस्त हुन्थे । आफ्नी छोरीलाई पर्याप्त समय दिन भ्याएनन् । उनीहरुका लागि होस्टेल सबैभन्दा उपयुक्त विकल्प थियो । त्यही रोजे ।
बाल्यकाल अभिभावकविना बितेका कारण निकितालाई आफ्नो त्यो समय त्यति मन पर्दैन । ‘अत्यासलाग्दो र बेरसिलो रह्यो मेरो बचपन, राति एक्लै सुत्न डर लाग्थ्यो, कहिलेकाहीँ ज्वरो पनि आउँथ्यो, त्यतिबेला डाक्टर ममीलाई सम्झिन्थेँ ।’, यसो भन्दै गर्दा निकिता एकाएक खुम्चिइन् ।
होस्टेल बसेको केही वर्षसम्म त उनी हरेक महिना आमाबुबा आउने दिन कुरेर बस्थिन् । ‘गुडियाहरु लिएर भेट्न आउनु हुन्थ्यो, म गुडियाभन्दा पहिले आमालाई अँगालो हाल्न पुग्थेँ ।’
त्यतिबेला निराशाका ससाना टुक्रा बादल उनको चेहरामा दगुरे ।
केही वर्षपछि भने उनलाई आमाबुबाकै वास्ता लाग्न छाड्यो । आफ्ना साथी र उनीहरुका अभिभावकबीच भएको प्रेम, घनिष्ठता, स्नेहले आफू र आफ्ना अभिभावकमा पटक्कै पाइनन् ।
‘अहिले मलाई जसरी एक्लै छोडिसिएको छ, त्यसरी नै ठूलो भएपछि म पनि मामुहरुलाई छोड्छु ।’ निकिताले सानोमा यस्तै सोच्थिन् । तर यो सोच शायद बदलिएको छ अहिले ।
उनी सुनाउँछिन्, ‘एउटा समय पनि थियो, अरुसँग बोल्न पनि मन लाग्दैनथ्यो, रिस उठ्थ्यो, आफ्नो कोही छैन भन्ने लाग्थ्यो ।’
कुनै बेला उनलाई एक्लोपनले यति सताएको थियो कि, ९ कक्षामा पढ्दा होस्टेलबाट भाग्ने योजनासमेत बनाएकी थिइन् । तर पछि उनलाई लाग्यो, ह्या होस् । ठीकै छ ।
‘मलाई रातभरी निन्द्रै नलाग्ने, कोल्टे फर्किंदा बिहान हुन्थ्यो, पत्याउनुहुन्छ? म दुई वर्षसम्म राम्ररी निदाइन ।’ आफ्ना पुराना दिनका केही अंश शेयर गर्दै थपिन्, ‘अहिले त मामुले नउठाउन्जेल सुतिराख्छु, अहिले पो बाल्यकाल आएजस्तो लाग्छ ।’
बा–आमाको स्नेह नपाएकी निकिता आजकाल भने फ्रेस देखिन्छिन् ।
* * *
निकिता त नेपाली समाजकी प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता कैयन् बालबालिका मानसिक रुपमा प्रभावित छन् । कामको व्यस्तताका कारण आमाबाबुले आफ्ना छोराछोरीसँग पर्याप्त समय बिताउन पाउँदैनन् ।
आफ्ना छोराछोरीका इच्छा, आकाङ्क्षा, रुचि, सपनाहरुबाट बा–आमा अनभिज्ञ छन् । मनोविश्लेषकहरु भन्छन्, ‘छोराछोरीले पनि आफूलाई समस्या पर्दा, दुःख, सुखका कुरा आफ्ना आमाबाबुलाई भन्ने अवसर नपाउँदा भित्रभित्रै गुम्सिएर डिप्रेसनको शिकार हुन पुग्छन् ।’
एउटा अर्को ताजा घटना छः
दश वर्षीय अमन बेलाबेलामा भन्ने गर्छन्, ‘आत्महत्या गर्छु ।’
अमन लामा । दशवर्षे अमन आत्महत्या गर्ने कुरा गर्छन् । उनको कलिलो मस्तिष्कले मर्ने योजना बुनिरहेको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् । सुन्दा अचम्म लाग्न यो कथा चितवनको हो ।
अमनका बुबा व्यापारी हुन्, आमा सहकारीकी संस्थापक । दुवैजना प्रायः काममा व्यस्त हुने भएकाले सानैदेखि अमन घरमा काम गर्ने मान्छेको भरमा हुर्किए । उनका परिवारले मोबाइल फोन दिएका छन् तर समय दिन सकेका छैनन् । त्यसैले उनी दिनभर त्यही फोन चलाउनमै व्यस्त हुन्छन् ।
फोनले उनलाई रोगी बनाउँदै लगेको छ ।
अदृश्य रुपमा उनको मस्तिष्कमा यी कुराहरुले प्रभाव पारिरहेको छ भनेर तब मात्र प्रष्ट भयो, जब उनको व्यवहारमा अप्रत्यासित परिवर्तनहरु देखा पर्न थाले । आमाबुबाको व्यस्तताले उनमा यति गहिरो असर पारेको छ कि उनी डाइरेक्ट भन्छन् ‘म मर्छु, बाँच्न मन छैन ।’
यस्तो अनौठो व्यवहार देखेर अमनका आमाबुबाले उनलाई मनोविश्लेषक कहाँ पु¥याए । ६ दिनदेखि उनी औषधी र मनोविश्लेषकको परामर्श लिइरहेका छन् ।
अमनका मनोविश्लेषक वासु आचार्य भन्छन् ‘अहिले उनको स्थितिमा सुधार आएको छ ।’
मनोविश्लेषकको सुझावः छोराछोरीलाई समय दिऔँ
नेपाली समाजमा पनि संयुक्त परिवार दुर्लभ बन्दै गएको छ । मान्छेहरु एकल परिवारमै बस्न रुचाउँछन् । एकल परिवार त्यसमा पनि आमाबाबु दुवैजना काम गर्ने भएपछि छोराछोरीले आमाबुबासँग पर्याप्त समय बिताउन पाउँदैनन् । जसकारण उनीहरुलाई सधै अभिभावकत्वको अभाव महसुस भइरहन्छ ।
मनोविश्लेषक वासु आचार्य भन्छन्, ‘हो, अहिलेको जमानामा सुखी जीवन बिताउनलाई दुवैजना काम गर्नैपर्ने हुन्छ, तर जसलाई सुखी जीवन दिन चाहेको हो, उसलाई नै झन् दुखी बनाइँदैछ भने त्यो व्यस्तताको के अर्थ ?’
उनका अनुसार कामबाट घर फर्किएपछि अभिभावकले आफ्नो समय फेसबूक, इन्स्टाग्राम, टिभी वा साथीभाइसँग मोजमस्तीमा मात्रै खेर फाल्नु सरासर गलत हो । छोराछोरीलाई माया, केयर र सर्पोट गर्छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।
उनका अनुसार बच्चासँग खेल्ने र खेल्न सिकाउने समय छुट्याउनुपर्छ । कम्प्युटर, मोबाइल बाहिर पनि दुनियाँ छ भन्ने बुझाउनुपर्छ । दिन कसरी बित्यो भनेर सोध्ने ग–यो भने पनि बच्चाले चाहिने कामलाई बढी ‘फोकस’ गर्न सक्छ । ‘घरका सामान्य कामहरुमा सरिक गराउने, विदामा बााहिर घुम्न लग्ने, कहिलेकाहीँ उनीहरुसँग टिभी पनि सँगै हेरिदिने ग–यो भने बालकलाई अपनत्वको महसुस दिलाउन सकिन्छ ।’, आचार्य भन्छन् ।
अभिभावकको उचित ‘एक्सन’ ले बालबालिकामा सोही अनुसारको ‘रियाक्सन’ गर्ने उनको भनाइ छ । भन्छन्, ‘आखिर छोराछोरीले पनि त आमाबुबाको ‘भनाइ’बाट भन्दा पनि ‘गराइ’बाट नै त सिक्ने हुन् !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया