आठौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण हुँदैै

नेपालगञ्ज । नेपालगञ्जमा पूर्व घोषित समयमै आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना कायमै रहेको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताएका छन् । 

शुक्रवार कुरा गर्दै ओलीले खेलकूद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको प्रतिवेदनका आधारमा निकासा हुन थालेकाले तोकिएको समयमा प्रतियोगिता हुनेमा आफू आशावादी रहेको बताए । 

तोकिएको समयमा प्रतियोगिता हुन नसक्ने आशयको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि अध्यक्ष ओलीले केही कठिनाइका बाबजुद पनि पूर्व घोषित समयमा प्रतियोगिता आयोजना गर्न कुनै कसर बाँकी नराख्ने अठोट समेत व्यक्त गरे । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आगामी मंसिर २१ देखि २८ गतेसम्मको मिति तोकिएको छ । अध्यक्ष ओलीले राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यस क्षेत्रका खेलाडीको बन्द प्रशिक्षण पनि चाँडै शुरु गरिने जानकारी दिए ।

नेपालगञ्जमा हुने आठौँं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । 

पूर्वाधार निर्माण अन्तर्गत नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ । 
भूइँमा फ्लोरिङ गर्ने कामपनि सकिएको अध्यक्ष ओलीले बताए ।  

रंगशाला क्षेत्रमा झण्डै १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ । 

पूर्वाधार निर्माण अन्तर्गत रंगशालामा सात करोडको लागतमा ‘ट्रयाक एण्ड फिल’ निर्माणको काम पनि धमाधम भइरहेको छ । रंगशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेञ्ज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुटिङका लागि आवश्यक एअर पेस्तोल र एअरगन खरीद प्रक्रिया पूरा भइसकेको छ । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेल बाँकेको कोहलपुर, बर्दिया र दाङमा पनि हुनेछ । त्यसका लागि बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदान वरिपरी पर्खाल निर्माण, दाङको बेलझुण्डीमा  २५ करोडको लागतमा रंगशाला र बर्दियाको गुलरिया र ठाकुरद्धारामा खेलमैदान तथा कबर्ड हल मर्मत एवं निर्माण भइरहेको छ ।

आठौँं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मष्कट’को रुपमा पारित गरिएको छ । केही दिनअघि खेलकूदमन्त्री एवं प्रतियोगिता मूलआयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले अहिलेसम्म पूर्वाधार निर्माणको कामको समीक्षा गरेको थियो । 

प्रतियोगिता समयमै आयोजना गर्न सङ्घीय, प्रदेश नं ५ र त्यस अन्तर्गतका स्थानीय सरकारसँग क्षेत्रीय खेलकूद विकास समितिले सबै खाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न आग्रह गर्दै आएको छ ।

आगामी मंसिर २१ गतेदेखि नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?