भीमदत्तनगर : नेपालका थारू समुदायले अाज माघी पछिको सबैभन्दा ठूलो पर्व 'अट्वारी' मनाउँदैछन् । पश्चिम नेपालमा अधिक बसोबास रहेको थारू वस्तीमा अट्वारीको राैनक छाएको छ ।
थारूहरूले भाद्र शुक्ल पक्षको पहिलो अार्इतबार अर्थात श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो अार्इतबर अट्वारी ब्रत बस्दै यो पर्व मनाउँछन् ।
हरितालिका तीजपछिको शनिबारको मध्यरातमा दर खाएर थारू समुदायले विधिवत रूपमा अट्वारी पर्व मनाउन शुरू गर्छन् । यो पर्व दुर्इ दिनसम्म मनार्इन्छ ।
द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको थारू अगुवाहरू बताउँछन्। यसैगरि, भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको उनीहरूले बताएका छन् ।
आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । व्रत बसेका वर्तालुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ ।
अट्बारीको दोस्रो दिनअर्थात् आज बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गव्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी व्रतालुले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि व्रतालुले आफ्नो खानाको परिकारबाट आधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रहिआएको छ । आज बिहानको भोजनलाई थारूभाषामा ‘फ्राहार’ भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया