काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले पहिलो पटक शहिद स्मारक ‘ए’ डिभिजन लिगको ट्रफी टुर कार्यक्रम आयोजना गर्दैछ।
‘ए’ डिभिजन लिग समितिका संयोजक विज्ञानराज शर्माले लिगको ट्रफी काठमाडौं उपत्यकामा टुर गरिने जानकारी दिएका हुन् । सोमबार दशरथ रंगशालाबाट शुरु हुने ट्रफी टुर उपत्यकाका सात स्थानमा पुर्याइने पनि शर्माले बताए ।
पहिलो पटक विद्यालय केन्द्रित रहने ट्रफी टुरको मुख्य उद्देश्य लिग फुटबलको माहोल सिर्जना गर्नु रहेको छ। त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको विद्यार्थीलाई केन्द्रित गरेर लिगको ट्रफी टुर कार्यक्रम शुरु हुन लागेको हो ।
टुर अन्तर्गत काठमाडौंका ५ तथा ललितपुर र भक्तपुरको १-१ विद्यालयमा कार्यक्रम आयोजना गरिने शर्माले जानकारी दिए । ८५ वर्षको इतिहास बोकेको यो लिग ९० सालको भूकम्पपछि रामजानकी ट्रफीको नामबाट शुरु भएको थियो ।
प्रजातन्त्र स्थापनाका बेलामा दिवंगत भएका शहिदहरुको सम्झनामा यो लिग शुरु गरिएको थियो । पछिल्लो पटक मनाङ मस्याङदी क्लबले यो प्रतियोगिताको उपाधि जितेको थियो । २०७१ सालपछि पहिलो पटक यो लिग पुनः सञ्चालन हुन लागेको हो ।
रोबिन राउण्डको आधारमा खेलाइने ‘ए’ डिभिजन लिग असोज दोस्रो साताबाट काठमाडौंमा शुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया