‘डु अर डाइ’ : नेपाल भर्सेज बंगलादेश

जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध शानदार जित निकाल्यो । माल्दिभ्सविरुद्धको ४ गोल र खेलाडीहरुको उत्कृष्ट खेल प्रदर्शनलाई लिएर नेपाली फुटबल समर्थकहरु गदगद देखिन्थे ।

स्वभाविकै हो दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीको गोलले नेपाली फुटबल फ्यानहरुमा निकै आशा जगाएको थियो । त्यसपछिको श्रीलंकाविरुद्धको दोस्रो खेलमा पनि नेपालको खेल प्रदर्शन उत्कृष्ट रह्यो ।

श्रीलंकालाई ३–० गोल अन्तरले स्तब्ध पार्दै सानदार जित हात पारेको नेपालले आइतबार बेलुकी भएको भारतसँगको खेलमा भने त्यही विरासतलाई कायम राख्न सकेन । भारतसँग ८–० को गोलअन्तरले पराजित भयो । योसँगै नेपाली राष्ट्रिय यू–२० फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले हारमा आफ्नो गल्ती स्वीकार्दै खेलाडी र एन्फालाई दोष नदिनसमेत आग्रह गरे । साथै, उनले आज हुने बंगलादेश विरुद्धको खेलमा नेपालले आफ्नो कमीकमजोरी सुधार्ने अभिव्यक्ति समेत दिएका थिए ।

भारतविरुद्ध कहाँ चुक्यो नेपाल ?

भारतविरुद्धको खेलमा नेपाली डिफेन्समा चुक्नु नै घातक सावित भएको थियो । फरवार्डहरु पनि स्पेस कभरिङ गर्नबाट चुकेका थिए । पहिलो हाफमा थोरै भएपनि दबाब बनाएको नेपालले दोस्रो हाफमा मात्रै ७ गोल खाएको थियो । डिफेन्डर अजय चौधरी घाइते भएपछि पनि नेपालले थप नोक्सानी व्यहोर्नुपर्यो ।

फेरि, अर्को कुरा भारतीय फुटबल टीम नेपालसामू सधैं बलियो दाबेदारको रुपमा प्रस्तुत हुँदै आएको छ । भारतसँगको खेलमा नेपालले धेरैपटक हार व्यहोर्दै आएको छ । तर, यही हारको विषयलाई लिएर भइरहेको टीकाटिप्पणीले पक्कै पनि नवखेलाडीहरुलाई प्रोत्साहन नगर्ने खेलप्रेमीहरुको मत छ ।

बंगलादेशलाई जितेरमात्र पुग्दैन : 

आज (मंगलबार) हुन लागिरहेको बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । किनकी नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध जित मात्र नभइ फराकिलो गोल अन्तरको जित आवश्यक छ ।

यद्यपि, बंगलादेश अंक तालिकाको शीर्ष स्थानमा छ । जारी यू–२० मा अपराजित रहँदै फाइनल पुग्ने बंगलादेश एक्लो टोली हो । शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । तर, अंक गणितका हिसाबले फाइनल पुग्न आज नेपालले बंगलादेशलाई ९–० गोल अन्तरले पराजित गर्नुपर्ने छ ।

आज हुने खेलमा नेपालले बंगलादेशलाई ९–० गोल अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा आफ्नो स्थान पक्का गर्नेछ र फाइनलमा बंगलादेशसँग नै भिड्ने छ ।

यस्तो छ अंकतालिका :

बंगलादेशपछि हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १–१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएका छन् ।

झिनो आशा अझै बाँकी 

आज हुने खेलमा नेपालले बंगलादेशसँग बराबरीमात्रै खेले पनि फाइनल यात्रामा भने ब्रेक लाग्ने छैन । किनभने, यता भारत र माल्दिभ्सबीचको खेलमा भारतले हार व्यहोर्यो भने नेपाल फाइनल पुग्नेछ । तर, भारत र माल्दिभ्सबीचको खेल बराबरी भएको खण्डमा नेपालले बंगलादेशलाई १ गोलले जिते फाइनल पुग्नेछ ।

 नेपाली टीम : 

गोलकिपर : ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख
डिफेण्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डर : आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,
स्ट्राइकर : रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?