कर प्रशासनको प्रभावकारीता अहिलेको आवश्यकताः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रशासनको प्रभावकारीता अहिलेको आवश्यकता रहेको बताएका छन् । 

उनले अहिले मुलुकलाई ऋणमा नडुबाई विकास गर्न प्रभावकारी कर संकलनमा जोड दिनुपर्ने समेत जानकारी दिएका हुन् । मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकारले करयोग्य नयाँ क्षेत्रको पहिचान गर्दै अघि बढ्न खोजिरहेको भन्दै अर्थतन्त्रको सबलीकरणमा जोड दिनु पर्ने बताए । 

साथै, उनले मुलुकमा अझै धेरै अनौपचारिक क्षेत्र रहेको जानकारी दिए । ‘गैरसरकारी, निजी तथा सहकारी क्षेत्रलाई हेर्ने हो भने अझै धेरै अनौपचारिक क्षेत्रहरु छन्, हामीले सबैलाई करको दायरामा ल्याउने तत्कालै कामको थालनी गर्नुपर्छ।’ उनले भने । 

अर्थमन्त्री खतिवडाले लगानी प्रवर्द्धन र आर्थिक विकासका लागि उपयुक्त कर प्रणाली हुनुपर्ने भन्दै लगानीमैत्री कर प्रशासन र प्रणालीको विकास आफूले चाहेको उल्लेख गरे । त्यस्तै उनले कर अधिकृतको सुरक्षाका लागि सरकार सधै तयार रहेको र कानुनअनुसार हुने कर निर्धारण गर्न निर्देशन समेत दिए।

सरकारले साविकका आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १, २ र ३ लाई खारेज गर्दै मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको हो।

यो कार्यालयलाई ४० देखि ८० करोड वार्षिक कारोबार गर्ने व्यावसायिक प्रतिष्ठान हेर्ने गरि क्षेत्र तोकिएको छ। केही क्षेत्र भने २५ करोड कारोबार गर्ने संस्था नै यही कार्यालयको क्षेत्राधिकार भित्र पर्छ।

यो कार्यालयले चालु आर्थिक वर्षमा १८ अर्ब रूपैयाँ कर असुली गर्ने लक्ष्य लिएको छ भने कार्यालय अन्तर्गत ८ सय ३३ करदाता रहनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?