७ तस्विरमा हेर्नुहोस् ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले पहिलो पटक शहिद स्मारक  ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । 

लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पुर्‍याइने एन्फाले जानकारी दिएको छ ।  ‘एन्फा’ले सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘ए’ डिभिजन लिग फुटबलको ट्रफी प्रदर्शनीमा राखेको हो ।

‘एन्फा’ले रंगशालामा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुको बीचमा ट्रफी प्रदर्शन गरेका हुन् । सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको सो ‘ट्रफी टुर’ सात स्थानमा पुर्‍याइनेछ ।

पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’को मुख्य उद्देश्य यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको संयोजक शर्माले बताए । 

“चार वर्षपछि ए डिभिजन लिग शुरु हुँदैछ, चार वर्षदेखि फुटबल गतिविधि सुस्त थियो, फुटबल खेलप्रति आकर्षित गराउन ट्रफ्री टुरको आयोजना गरेका हौँ”– पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका संयोजक शर्माले भने ।
 
‘स्कोर अ गोल’ नाम दिई रंगशालाबाट शुरु भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, कलाकार, त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका विद्यार्थी, एन्फा पदाधिकारीलगायत सहभागी थिए । 

शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । वि.सं १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’को नामबाट शुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीन पटक जित्दै इतिहास बनाएको छ । 

पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल संघलाई दिएको थियो । त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुती दिएका सम्पूर्ण शहीदको सम्झनामा प्रतियोगितालाई ‘शहीद स्मारक ए डिभिजन लिग ट्रफी’ नामाकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ । 

शहीद स्मारक ए डिभिजन लिगको स्थापना २०११ सालमा नरशमशेर जबराले गरेका हुन् । उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन् ।

ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन् । उक्त उपाधि हालसम्म मनाङ् मस्र्याङ्दी क्लबले सबैभन्दा बढी सात पटक जितेको छ । त्यस्तै, रानी पोखरी कर्नर टिम ‘आरसिटी’ क्लबले ६ पटक, नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबले पाँच-पाँच पटक तथा महावीर क्लबले तीन पटक जितेको छ । 

यता, संकटा क्लबले तीन, अन्नपूर्ण फुटबल क्लबले दुई, देउराली क्लबले  दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले समान एक-एक पटक यो प्रतियोगिताको उपाधि जितेका छन् ।

लामो समयपछि शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सञ्चालन हुन लागेको हो । 

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, लिग कमिटिका संयोजक विज्ञान राज शर्मा, राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, गायिका इन्दिरा जोशी, नेपाली टोलीका सदस्य बिक्रम लामा लगायत खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?