२९ वर्ष सञ्जीव गुरुङ बनेर गुजारेकी पिङ्की भन्छिन् ‘तेस्रोलिङ्गीको लागि अझै स्पष्ट कानून छैन’

अग्ली, गहुँगोेरी, सिलिक्क परेको कालो लामो कपाल अनि चटक्क परेको कपडा लगाउँदा पिङ्कीलाई बाटो हिँड्नेहरूले पनि एकपटक फर्केर हेर्ने गर्छन् । उनको आवाज पहिलो पटक सुनेर नहाँस्ने सायद कम नै होलान् । 

नीलहिरा समाज (ब्लू डायमण्ड सोसाइटी)की अध्यक्ष पिङ्की जन्मजात पुरुष हुन् । धेरै भएको छैन नेपाली समाजले तेस्रो लिङ्गीलाई स्विकारेको । अझ स्विकार्ने वर्ग पनि धेरै सानो छ । सञ्जिव गुरुङबाट पिङ्की गुरुङ सम्मको यात्रा निकै असजिलो थियो । तर आफू र आफूजस्तै तेस्रोलिङ्गीका लागि आवाज उठाउने काममा लाग्दालाग्दै आज उनले आफूलाई यति बलियो बनाएकी छिन् कि उनलाई छक्का, हिजडा जस्ता अपमानित शब्दले एक रत्ति पनि छुदैन । अर्थात् ‘स्ट्रङ लेडि’ । समाजले लाञ्छाना लगाउँछ तर उनी कुनै पर्वाह नै गर्दिनन् ।  भन्छिन्,  मनमा ठेस त पुग्छ तर आत्मविश्वास र निडरता शक्ति बनेको छ । 

सञ्जिव गुरुङ हुँदा

जन्मजात पुरुष भएर जन्मिएर महिला भएर बाँच्छु भन्न निकै कठिन छ नेपाली समाजमा तर पिङ्की गुरुङ एउटा यस्तो नाम हो ओम गुरुङ र शान्ति माया गुरुङ को कोखबाट २०३५/०९/०५ सालमा जन्मिदा छोराको रुपमा जन्मे । 

नाम राखियो सञ्जिव गुरुङ । 

अरु केटा मान्छे जसरी हुर्काइन्छन् त्यसरी नै उनी पनि हुर्किए । १२–१३ वर्षको हुँदा सम्मममा कुनै खालको परिवर्तनको महसुस भएको थिएन । तर बिस्तारै उनको शरीरमा आएका परिवर्तनहरु पुरुषको जस्तो भएतापनि  तन र मन भने केटीको जस्तै हुनथाल्यो । केटीको जस्तै मेकअप गर्न मन लाग्ने, कपडा लगाउन मन लाग्ने हुनथाल्यो । नेल पोलिस र लिपिस्टिकले तान्यो उनको मन । न कि फूटबल र फाईट ।  ‘किन म अरु भन्दा फरक छु ? ’ मनमा कैयौं प्रश्न थिए उनको । 

तर भन्नु कसलाई ? 

स्विकार्छ कस्ले ? 

घरमा केहि भन्ने पो हो कि ? 

अनि समाज ? 

यो र त्यो प्रश्नहरुको बिचमा उनी मिचिए । 

तर मनमा चलेको हुण्डरी २९ वर्ष सम्म छिप्यो । 

लुकाए । अर्थात् छोरा भएरै बाँचे । समाजका लागि उनी केटा नै थिए । तर आफ्नो लागि भने केटी । उनको इच्छा, चाहना र रहरहरू सबै केटी जस्तै थिए ।केटा भएर केटी प्रति प्रेम बढ्नु, आकर्षण बढ्नुको सट्टा केटाप्रति आकर्षण हुने, लाजलाग्ने, राम्रो केटा देख्दा गाला रातो हुन्थ्यो । सार्वजनिक सवारीमा यात्रा गर्न निकै कठिन । गाडीमा चड्दा यो छक्काका लागि चड्ने गाडी होइन भन्थे । मनमा धेरै पीडा र चोट गुम्सिएका थिए । तर म को हुँ, मलाई यस्तो किन हुन्छ ? म यस्तो हुनु कतै कुनै रोग त होइन भन्ने थुप्रै प्रश्न उनीभित्रै अनुत्तरित थिए ।

सानोमा उनले करकापमा परेर बल खेलेका थिए । केटाहरुको संगत गरेर उनले न चङगा उडाउन जाने न गुच्चा खेल्न । तिहारमा केटी बनेर नाँच्न जाने गर्थे । 

सानो हुँदा आमासँग चुरा किन्न बजार गएका सञ्जिव गुरुङ आमाको पैसा चोरी हुँदा कहिले पैसा कमाएर आमालाई दिने होला भनेर चिन्तित हुन्थिन् । 

एक सरो लुगामा काठमाडौं आएका सञ्जिव गुरुङका बुबाले एउटा सपना देखका थिए । सञ्जिवलाई आर्मीको मेजर बनाउने सपना । उनको विवाह पनि उनको फूपुको छोरीसँग तय भइसकेको थियो । 

स्कुल सकिएपछि जब उनी कलेज गए तब उनलाई म अरु भन्दा भिन्न छु भन्ने आभाष भईरहन्थ्यो ।  केटी साथीहरु थिए तर गलफ्रेन्ड थिएनन् । अरु उनको कक्षाको साथीहरुले उनलाई गलफ्रेन्ड नभएकोमा तिमी पनि केटीहो कि के हो भन्दै जिस्काउने गर्थे उनको मानमा चिसो पस्थ्यो तर उनको भित्री सत्यता भनौं वा चाहना , उनलाई केटा नै मन पथ्र्याे ।

आइए पढ्दा उनको कक्षामा मन मिल्ने साथी नभएर संगीतको कक्षामा मात्र बसेर घर आएको अनुभव उनी सँग छ । कक्षामा सधैं उनी एक्लो हुन्थे किनकि उनी अरु भन्दा भिन्न थिए । केटा भएपनि केटाहरुको जस्तो स्वभाव थिएन तर उनले ठूलो संख्यामा महिला र पुरुषमात्र देखेकाले म गलत हो भन्ने उनको मनमा पसिसकेको थियो । 

‘म केटा नै हुनपनि कोसिस गरेँ तर सकिन, किनभने म त्यो थिइन ।’, पिङ्की भन्छिन् । 

केटा भएर बस्न कोसिस नगरेको त होइन तर उनी जे हुन् त्यही हुन चाहन्थिन् । उनी महिला हुन चाहन्थिन र महिला भएर बाँच्न ।

२०५३ सालतिर उनको स्वास्थ्यमा समस्या आयो । उनी अस्पलातबाट सबै उपचार सकिएपछि रत्नपार्क हुँदै घर फर्कंदै थिइन् ।

त्यहाँ पहिलो पटक उनको समलिङ्गी, तेस्रो लिङ्गीहरुसँग भेट भयो । पहिला उनीहरुलाई देखेर उनी डराइन् । आफूलाई केटाहरु मन पर्ने भएकाले केटाहरु पछि लाग्दा उनी खुसी चाहिँ थिइन् तर उनको मनमा डर पनि थियो । 

समाजले भन्ने गरेको छक्का, हिजडा यस्तै पो हो कि भन्ने उनलाई लागेको थियो । समाजले बोलाउने अपहेलित शब्दहरुबाट आफूलाई बचाउन भरसक कोशिस गरिन् ।समाजले जे भने पनि उनले आफूलाई कहिले त्यो वर्गमा राख्न चाहिनन् । उनीहरुलाई देखेको एक हप्ता सम्म उनलाई निन्द्रै लागेन । म पनि उनीहरु जस्तै पो हो कि भन्ने प्रश्न मनमा यसरी गढ्यो कि उनले सत्य अस्वीकार गरिन् । 
त्यसपछि उनी दोस्रो पटक त्यहाँ गइन् । उनको त्यस ठाँउमा जाने क्रम बढ्न थाल्यो । उनको एकजनासँग भेटभयो । उनीहरु साथी भए । कुराहरु पनि मिल्न थाल्यो । अनि उनले आफ्नो वास्तविकता महसुस गरिन् । आफू अरु भन्दा कसरी भिन्न छु भन्ने उनलाई थाहा भयो । 

सञ्जिव गुरुङबाट पिङ्की गुरुङमा परिर्वतन

‘एक दिन मैले आफूलाई केटीको रुपमा ढालेँ र घरबाट बाहिर निस्कन गेटसम्म पुगेँ तर गेटबाट पाइला अगाडि बढेन । म फेरि पछाडि फर्किएँ ।  तर मैले आँट गरेँ । घरबाट निस्केँ र पाइला अगाडि बढाएँ, जुन आज सम्म निरन्तर चलिरहेका छन् ।’ पिङ्कीले भनिन् । 

२००१ मा नीलहिरा समाज स्थापना भयो । गाह्रो थियो । केटा भएर केटीको लुगा लगाएर हिँड्दा यो बिकृती हो भन्ने आरोप लाग्ने गरेको थियो ।

२००३ मा उनले पहिलो अन्तर्वार्ता दिएकी थिइन् । खुलेर समाजमा आउन सक्ने अवस्था नभएकाले उनको अनुहारमा कालो छायाँ राखिएको थियो । त्यो अन्तर्वार्ता टिभीमा प्रशारण भयो । परिवारसँग बसेर हेरेकाले उनको परिवारले आवाजबाट उनलाई चिन्यो । घरमा उनलाई सोधियो पनि तिम्रो आवाज हो भनेर । उनी मौन रहिन् । त्यसबेला उनीसँग कुनै पनि जवाफ थिएन  । 

२००८ मा उनले आफूलाई सम्पूर्ण रुपमा महिलामा परिवर्तन गरिन् ।  


उनले एकैपटक आफूलाई परिवर्तन गरिनन् । यो उनको हरेक दिनको लडाईं थियो । उनी कहिले पुरै महिलामा परिवर्तन भइन् उनको परिवारलाई पत्तै भएन । 

उनको आमाबुबा, घरपरिवारले ‘तँ किन यस्तो’ भन्ने प्रश्न चिह्न कहिले लगाएनन् । 

हिम्मत नहारेको, डर, लाज नभएको पनि होइन तर उनको आफ्नो पहिचान लुकाएर बस्न चाहिनन् । उनलाई समाजमा खुलेर बाँच्नु थियो । स्वतन्त्र भएर समाजमा अगाडी बढ्नु थियो । 

छिमेकीहरुले उनको बुबालाई तपाईंको छोरा किन छोरी जस्तो भएको भनेर धेरै कुराहरु सुनाउने गर्थे । तर पिङ्कीले आफ्नो बुबालाई तपाई भाग्यमानी भएर तपाईको घरमा तेस्रो लिङ्गी जन्मिएको भन्दै सम्झाउने गर्थिन् । कसैले चाहेर पनि तेस्रो लिङ्गी सन्तान जन्माउन नसक्ने भएकाले मान्छेको पछाडि नलाग्न उनले आग्रह गरिन् । 

तपाईको घरमा छोरा, छोरी र तेस्रोलिङ्गी तीन थरीको सन्तान भएकाले तपाईं अरु बुबाआमा भन्दा भाग्यमानी भएको भन्दै उनैले घरमा आफ्नो लाागि आफैं सहज वातावरण बनाउँदै गएकी हुन् । 
‘काठमाडौं गएपछि ठूलो कान्छाको कान निमोठ्छु’ भन्ने फूपु पनि उनलाई देखे पछि ‘उसको जीवन उसको तरिकाले बाँच्न दिनु’ भनेर घर फर्केकी थिइन् । 

घर परवारले स्वीकार गर्नु नगर्नुमा व्यक्ति आफैंमा भर पर्ने उनको भनाई छ  । 

मान्छेले हरेक दिन फरक फरक तरिकाले चित्त दुखाउँछन् ।  तीजको लागि गहना किन्न जाँदा उनको आवाज सुनेर त्यहाँको मान्छेहरु एक अर्काको मुख हेरेर हाँसे ।

मानिसमा क्षमता भयो भने अरुले हेप्न नसक्ने उनको बुझाइ छ  । 

उनको बुबाको निधन भएको ३ वर्ष भयो । तेस्रो लिङ्गी भएर पनि आफ्नो बुबाको विश्वास जित्न सफल भएकोमा उनी गर्व महसुस गर्छिन् । 

उनको फुपूको छोरीले ‘तँ बौलाइस्’ भन्दा ‘तपाई चाहिँ संसार घुमेर पनि अन्धो हुनु भएछ’ भन्ने जवाफ उनी तत्काल नकाल्थीन् ।

नीलहिरा बाहेक उनीहरु कतै रमाउन नसक्ने उनको भनाइ छ । विदेश जाने उनको योजना भित्र छैन । नीलहीरा समाज नेपालकी अध्यक्ष पिङ्की गुरुङ राजनीतिमा पनि उतिकै सक्रिय छिन् । उनी समलिङ्गी र तेस्रो लिङ्गीको मुद्दालाई राजनीतिक मुद्दा बनाउन चाहन्छिन् । 

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुप्रति समाजमा अझै पनि लाञ्छना र विभेद कायमै रहेको उनको भनाइ छ । 

पहिचानका सवालमा राज्य, परिवार तथा समाजमा विभेदको जालो जकडिएको उनको बुझाई छ । अरु मानव सरह तेस्रो लिङ्गी तथा समलिङ्गीलाई रोजगार, आरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनु पर्नेमा उनी जोड दिन्छिन् । तेस्रो लिङ्गी र समलिङ्गी विवाहलाई कानूनी मन्यता नदिएको कारण समुदायमा आफ्नो अधिकारलाई प्रयोग गर्न र ढुक्क भएर बाँच्ने अवस्था नरहेको उनको भनाइ छ । 

समयसँगै आफू प्रति मानिसको दृष्टिकोणमा सकारात्मक परिर्वतन आउनुलाई उनले सबैभन्दा ठूलो उपलब्धी ठानेकी छिन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?