च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेड र लियोन विजयी

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलमा सहज जीत हात पारेको छ । 

योङ ब्वाइजको घरेलु मैदान स्टेड डि सुइसेमा बुधवार राति सम्पन्न भएको खेलमा म्यान्चेस्टर युनाइटेडले स्विस क्लब योङ ब्वाइजलाई ३–० अन्तरले पराजित गरेको हो ।  खेलको  ३५ औँ मिनेटमा म्यान्चेस्टर युनाइटेडका लागि पल पोग्वाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

त्यस्तै, ४४ औँ मिनेटमा पोग्वाले नै पेनाल्टीमार्फत दोस्रो गोल थपे ।  लुका सा को शक्तिशाली प्रहार रिवाउन्डमा फर्कदा एमबावुले ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको म्यान्चेस्टर युनाइटेडका लागि ६६ औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए । योङ ब्वाइजले पनि गोल गर्ने केही मौका पाएपनि सदुपयोग भने गर्न सकेन । 

जितसँगै समुह ‘एच’ मा रहेको युनाइटेडले ३ अंक जोडेको छ । 

त्यस्तै, बुधवार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी फ्रेन्च लिग वान क्लब लियोनसँग २–१ ले पराजित भएको छ । 

घरेलु मैदानमा भएको खेलमा सिटीलाई स्तब्ध बनाउन म्याक्सवेल कर्नेट र नविल फकिरले गोल गरे । कर्नेटले खेलको २६ औँ मिनेटमा तथा फकिरले ४३ औँ मिनेटमा गोल गरे । 
यता सिटीका लागि भने ६७ औँ मिनेटमा बेर्नाडो सिल्भाले एक मात्र सान्त्वना गोल गरे । 

यता, बायर्न म्युनिखले बेन्फिकालाई २-० गोल अन्तरले हरायो । मुनिखको जीत दिलाउन रोर्बेट लेवानडुविस्की र रेनातो सान्चेजले समान एक-एक गोल गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?