कास्की । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ ।
उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्छे गाउँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भेडाबारीमा एकेडेमी बन्ने सम्भावना देखिएको बताए ।
लगभग १० करोडको लागतमा निर्माण हुने एकेडेमीमा १४, १६ र १८ गरी तीन उमेर समूहका ९० किशोरका लागि खाने, बस्ने, कार्यालय भवन र अभ्यास मैदान निर्माण गर्ने तयारी भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
निरीक्षण गर्दा दुवै जग्गा उपयुक्त देखिएको बताउँदै उनले भेडाबारीमै बनाउन सकिने भए पनि त्यसको अन्तिम निर्णय प्राविधिक समितिको प्रतिवेदनपछि मात्र गरिने उल्लेख गरे ।
करीब पाँचसय रोपनी जग्गा गाउँपालिकाले नापजाँच गरेर पठाएपछि एन्फाले प्राविधिक टोली अध्ययनका लागि लागि पठाउने र त्यसको प्रतिवेदनका आधारमा निर्णय लिइने अध्यक्ष शेर्पाले भनाइ थियो ।
तल्लो तहबाटै फुटबलको विकास गर्ने उद्देश्यले एन्फाले सातै प्रदेशमा एकेडेमी निर्माण गरेर फुटबल खेलको विकास गर्ने लक्ष लिएको जानकारी दिँदै उनले आगामी वर्षबाट गण्डकी प्रदेश र प्रदेश नं ५ मा एकेडेमी निर्माणको काम शुरु हुने जानकारी दिए ।
पोखराबाट १७ किमीको दूरीस्थित भेडाबारीमा एकेडेमी बनाउन अन्यत्रभन्दा उपयुक्त भएकाले सोही स्थानलाई छनोट गरिनुपर्ने स्थानीयवासीको माग छ ।
माछापुच्छे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जग्गा नापजाँचको काम भइरहेको र असोज दोस्रो हप्ताभित्रमा जग्गाको यकिन विवरणसहित एकेडेमी निर्माणका लागि एन्फालाई पत्राचार गरिने जानकारी दिए ।
“भेडाबारीे एकेडेमीका लागि उपयुक्त छ, पूर्वाधार निर्माण गर्न पनि सहज छ भन्ने हाम्रो ठम्याइ हो”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया