सानिमा बैंकले भित्र्यायाे २ अर्बबढी वैदेशीक ऋण

लोकपथ
28
Shares

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो ।

नेपाल राष्ट्र बैंकले स्वीकृती दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सिमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याएको छ ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फइबाट प्राप्त भएको सन्देश अनुसार ‘सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।

लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने साथै नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउने बताइएको छ । आइएफसीले नेपालमा साना तथा मझौला उद्योगको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहने बताएको छ ।’

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले साना तथा मझौला उद्योग क्षेत्रमा कर्जा प्रवाह गर्न केहि सहजता हुने धारणा व्यक्त गरे । उक्त सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिने छ ।

समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रहेर बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गरिने छ। हाल सानिमा बैंकको देशभरमा १ सय २७ कार्यालयहरु र १ सय २० वटा एटिएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?