राफेल लडाकु विमान खरिद सम्झौताले  मोदीलाई सत्ता बाहिरको बाटो देखाउला ?

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राफेल लडाकु विमान खरिद सम्झौता टाउको दुखाई बन्न पुगेको छ । जति निको गर्न खोज्छन् त्यति बल्झिन पुगेको देखिएको हो ।

यस्तै हतियार खरिद एक सम्झौताले कांग्रेस पार्टीलाई विगतमा सत्ताबाट बाहिरन परेको थियो । यो राफेल सम्झौताले मोदीलाई सत्ता बाहिरको बाटो देखाउला भन्ने चर्चा भारतमा चर्कि रहेको छ ।

प्रतिपक्षी कांग्रेस पार्टीले मोदी नेतृत्वको सरकारलाई राजनीतिकरूपमा घेराबन्दी गर्नराफेलको मूल्य बढी किन भयो भनी प्रश्न उठाउँदै आइरहेको थियो ।

मूल्य किन बढेको प्रश्न उठिरहेकै बेला फ्रान्सका पूर्व राष्ट्रपति फ्रान्स्वाँ ओलान्डले रफाएल सम्झौतासम्बन्धी दिएको अभिव्यक्तिले मोदीको टाउको दुखाई बढाइ दिएको हो ।

पूर्व राष्ट्रपति ओलान्डले रिलायन्स डिफेन्सको नाम भारत सरकारले नै फ्रान्ससमक्ष प्रस्तुत गरेको र फ्रान्ससँग यसलाई अनुमोदन गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताएका हुन् ।

ओलान्डको यो अभिव्यक्तिपछि भारतको सत्तापक्ष विरूद्धको राजनीतिक झन चर्किएको छ भने रक्षा मन्त्रालयले ओलान्डको अभिव्यक्तिको परीक्षण गरिने सफाइ पेश गरेको छ ।

यसैबीच फ्रान्सको वर्तमान सरकारले यसबारे एक अभिव्यक्ति सार्वजनिक गरी  यो सम्झौतामा कुन कम्पनीलाई चन गरिने हो त्यसमा फ्रान्स सरकारको कुनै भूमिका रहेको थिएन भनी जनाएको छ ।

ओलान्ड राष्ट्रपति भएका बेला यो समझौता भएकोले यो विषय मोदी विरूद्ध चर्किन पुगेको हो । 

मोदीका विरूद्ध राफेल सम्झौताका बारेमा कांग्रेसले प्रश्न उठाउँदा भाजपाले कांग्रेसका राजीव गान्धी प्रधानमन्त्री भएका बेला बोफोर्स तोप खरिद प्रकरणमा भएको घोटालाबारे प्रश्न उठाउने गरेको छ ।

बोफोर्स तोप खरिद सम्झौता १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको थियो ।

यसमा भ्रष्टाचार भएको आरोप चर्किए पछि राजीव गान्धी नेतृत्वको कांग्रेसले १९८९मा  पराजयको सामना गर्नुपरेको थियो ।

अहिले बोफोर्सको भ्रष्टाचार साबित हुन नसकेपनि राजीव गान्धीलाई सत्ताबाट हट्न परेको थियो ।

राफेल विमान खरिद प्रकरणको चर्चा  पनि अहिले बोफोर्सजस्तै  बन्न पुगेको छ ।

यसले मोदीलाई सत्ता बाहिरको बाटो देखाउला भन्ने सवालमा भारत भर बहस चर्किएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?