डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

पाल्पा । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । 

नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ । डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् । 

नेपाल डेरी एशोसिएशन केन्द्रीय समितिका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताए । डेरी उद्योगको विकासका लागि २० अर्बभन्दा बढी लगानी रहेको र दैनिक ५० हजार लाख लिटर दूध उत्पादन हुनेमा फर्मल सेक्टरमा १७ र इनफर्मलमा ३३ प्रतिशत र किसान स्वयंले उपभोग गर्ने ५० प्रतिशत दूध खर्च हुने गरेको उनले उल्लेख गरे । 

महासचिव प्रल्हाद दाहालका अनुसार दैनिक रु तीन करोडभन्दा बढी रकम शहरबाट गाउँमा प्रवाह हुँदै आएको छ । वार्षिक एक अर्ब राजश्व डेरी क्षेत्रबाट सरकारलाई बुझाउने गरिएको महासचिव दाहालको भनाइ छ । 

विदेशी लगानीमा डेरी उद्योगको सञ्चालन गरेको अवस्थामा स्वदेशी डेरी उद्योगहरु धराशायी हुने उद्योगीको धारणा रहेको छ । डेरी एशोसिएसनले विदेशी लगानीमा स्वदेशमा डेरी उद्योग सञ्चालनमा आएमा चार लाख ५० हजार किसानको घरपरिवारको रोजीरोटी गुम्न सक्ने अवस्था प्रति सचेत गराएका छन् । डेरी क्षेत्रमा रु २० अर्बको लगानी जोखिम हुने र स्वदेशी पैसा विदेशिन सक्छ भन्दै विदेश लगानीलाई नेपाली भूमिमा प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्ने पक्षमा छैनन् । 

श्रम ऐन २०७५ पास भई न्यूनतम पारिश्रमिकमा वृद्धि हुन गएकाले र बैंकको ब्याज दर बढ्न गई आर्थिक भार बढ्न गएको, घर भाडा बढेर आर्थिक भार बढ्न गएको डेरी व्यवसायीको भनाइ छ । विसं २०५५ मा नेपाल डेरी एशोसिएशन नेपालको स्थापना भएको हो । हाल डेरी उद्योग ७७ जिल्ला शाखा विस्तार भएको छ । यस संस्थामा देशभरका २५० भन्दा बढी उद्योग आबद्ध छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?