काठमाडौं । लामो समयपछि सञ्चालन हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिकामा परिवर्तन हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो ।
‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १४ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ ।
राष्ट्रिय टोलीका खेलाडीहरू ‘ए’ डिभिजनका ६ क्लबमा आवद्ध छन् । बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राख्दा ती क्लबलाई अप्ठेरो पर्र्ने क्लबले बताएपछि खेल तालिका परिवर्तन हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।
“बङ्गबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेल तालिका सार्वजनिक गरेका हौँ । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छ” एन्फा महासचिव इन्द्रमान तुलाधरले भने ।
महासचिव तुलाधरका अनुसार ‘ए’ डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्धन भएका छन् ।
क्लबबीचको खेल सञ्चालन गर्ने दुई विकल्पबारे छलफल भए पनि खेल तालिका परिवर्तन गर्न अधिकांश क्लबले प्रस्ताव गरेकाले सो निर्णय गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया