युएस–बांग्लाले माग्यो काठमाडौंमा उडान अनुमति

काठमाडौं । दुर्घटनापछि नेपालमा उडान स्थगित गरेको बंगलादेशको निजी हवाई कम्पनी युएस-बांग्ला एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग उडानका लागि अनुमति मागेको छ । 

गत फागुन २८ गते युएस–बांग्लाको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका ४ सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो ।युएस–बांग्लाको फ्लाइट–२११ को यस विमान दुर्घटनामा ४९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो। 

मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बङ्गलादेशी र १ चिनियाँ नागरिक थिए। विमान दुर्घटनापछि युएस–बांग्लाले तत्कालको लागि विमान अभाव देखाउँदै काठमाडौंमा गर्दै आएको उडान बन्द गरेको थियो।

तर, अहिले भने युएस–बांग्ला एयरलाइन्स कम्पनीले सातै दिन उडान भर्नेगरी अनुमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

एयरलाइन्सले कात्तिक १२ गतेदेखि उडान सुचारु गर्नेगरी अनुमति मागेको छ। तर, प्राधिकरणले एयरलाइन्सले उडान अनुमतिका लागि निवेदन दिएपनि अहिलेसम्म उडान अनुमति भने नदिएको उपमहानिर्देशक पोखरेलले बताए । 

अहिले युएस बांग्ला एयरलाई उडान अनुमति दिने वा नदिने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताए । यसैबीच दुर्घटना जाँचबुझ आयोगले पनि विमान दुर्घटनामा पाइलटको दोष देखाउँदै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। तर, रिपोर्ट भने सार्वजनिक भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?