श्री कृष्ण जन्माष्टमी : कृष्ण प्रणामीहरुको विशेष उत्सव

भाद्र कृष्ण अष्टमी, बुधबारको मध्यरात, रोहिणी नक्षत्र, झमझम परेको पानीसँगै गर्जिएको बादल र चट्याङ । करिब पाँच हजार वर्षअघि द्वापरयुगको अन्त्यतिर आजकै दिन भगवान श्री कृष्णको जन्म भएको थियो ।

दानव कंशले आफ्नै बाबुलाई कालकोठरीमा राखेर आफूले आफैलाई मथुरा नगरीको राजा घोषणा गरेका थिए । जोतिषले दानव कंशलाई देवकीको कोखबाट जन्मेको आठौँ बच्चाले उनको हत्या गर्ने बताएपछि कंशले आफ्नी बहिनी देबकी र वासुदेवलाई कारागारमा राखेका थिए । विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णले जन्म लिए ।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए र त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याउ’ भन्ने आकाशवाणी भएपछि नवजात शिशुलाई वृन्दावन लगिएको धार्मिक विश्वास छ । यहि मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

कृष्ण जन्माष्टमी हिन्दुहरुको एक प्रमुख पर्व हो । जन्माष्टमीको दिनमा भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ जुन साच्चै नै दर्शनीय हुन्छ । मन्दिरहरुमा गरिने श्रृगांर, भक्तजनहरुको भक्तिभाव, भागवत् कथाको प्रवचन, कृष्ण भगवानको जन्मसम्बन्धी नाटकहरुले पनि कृष्ण जन्माष्टमीको विशेष बनाउने गरेको छ ।

हिन्दु धर्मभित्र भगवान श्रीकृष्णलाई फरक–फरक तरिकाबाट पुज्ने समुदायहरु छन् । उनीहरु सबैले आफ्ना–आफ्ना तरिकाले श्रीकृष्णलाई वर्णन गर्छन् । यीमध्येको एउटा समुदाय हो– श्रीकृष्ण प्रणामी । कृष्ण प्रणामीहरु ती हुन जसले भगवान श्री कृष्णलाई प्राथमिकतामा राख्ने गर्छन् ।

यस धर्मले पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णलाई आराध्य मानी, सेवापूजा एवं अनन्य प्रेम–लक्षणा भक्तिको अनुशरणबाट समाजमा अहिंसा, प्रेम, समता एवं सेवाभाव अभिवृद्घि गरी प्रत्येक व्यक्तिको जीवनलाई आध्यात्म उन्मुख बनाउँदै क्षर, अक्षरदेखि पर अक्षरातीत तत्वमा विलिन बनाउनमा मार्ग दर्शन गर्दै आएको छ ।

कृष्ण प्रणामीहरुको आफ्नै केही छुट्टै विश्वाश र आस्था रहेको छ । प्रणामीहरुले भगवान श्रीकृष्णलाई श्रीराज्जीश्यामाजीको नामले सम्बोधन गर्ने गरेको विगत ४० वर्षदेखि कृष्णप्रणामी धर्म मान्दै आएकी एवम् श्री कृष्ण प्रणामी मन्दिर युटिकिकी पुजारी सानु माया घिमिरे बताउँछिन् ।

‘हामीले हाम्रा आनुयाइहरूलाई सुन्दरसाथू नामले सम्बोधन गर्ने गर्छौं,’ उनले भनिन्, ‘आफ्ना सुन्दरसाथहरु वा अरुमानिसहरुलाई भेट्दा प्रणाम भनेर सम्बोधन गछौँ ।’

कृष्ण जन्माष्टमीको दिन गोठाटारमा अवस्थित नवतन धाममा विशेष तामझाम हुने गरेको छ । आज बिहानदेखि नै धाममा झक्तजनहरुको भिड लागेको छ । कृष्ण जन्माष्टमीको दिन कृष्णको जन्म भएको पल विशेष हुनेगरेको छ । मध्यरातमा प्रणामीहरु एकचित्त भइ भगवानको स्वागतमा तल्लिन हुन्छन् ।

कृष्ण जन्मेको समय यती विशेष हुन्छ कि सबै भक्तजनहरु उठेर भगवान कृष्णलाई पुष्पवर्षा लगायतले स्वागत गर्नेगर्दछन । कृष्ण जन्मिएको समय पश्चात दही र मख्खनले उनको मुर्तीलाई अभिशेख गरिन्छ र तयार अवस्थामा राखिएको झुलालाई झुलाइन्छ ।

यसरी सुरु भयो कृष्णप्रणामी धर्म : 

सद्गुरु देवचन्द्रजी महाराजले कृष्णप्रणामी धर्मको सुरुवात गरेका हुन् । शास्त्रले पनि उनै देवचन्द्रजी महाराजलाई सद्गुरु भनेर प्रमाण दिएको युटिकिकी पुजारी घिमिरे बताउँछिन् ।

१६३८ सालमा मारवड देशको उमरकुट गाउँमा श्री देवचन्द्रजीको जन्म भयो । ५ वर्षको उमेरदेखि नै उनले म को हुँ र यस संसारमा मेरो जन्म किन भयो ? भन्ने जस्ता जिज्ञासा गर्न थाले ।

सोही क्रममा उनी गुजरातको जामनगर पुगे । त्यहाँ भइरहेको बहुत ठूलो भागवतका कथा वाचन उनले १४ वर्षसम्म सुन्नुभयो । जब उनी ४० वर्षका पुगे उनलाई साक्षात् भगवान श्रीकृष्णले प्रत्यक्ष दर्शन दिनुभयो । दर्शनसँगै उनलाई ठूलो मन्त्र पनि सिकाउनुभयो । उक्त मन्त्र साढे ७ करोड मन्त्रहरुभन्दा माथि भएकाले यसलाई तारतम महामन्त्र भनिन्छ । भगवान श्रीकृष्णको मुखारविन्दुबाट मन्त्रपाएपछि त्यो दिनबाट कृष्णप्रणामी धर्म सुरु भएको धार्मिक विश्वास छ ।
कृष्णप्रणामी धर्ममा ग्रन्थको पूजा हुन्छ । परमात्माका रुपमा ग्रन्थलाई पूजा गर्ने गर्छन् उनीहरु । कृष्णप्रणामी धर्ममा जाँड–रक्सी, माछामासु, धुम्रपान र सुर्ति पूर्णरुपमा बर्जित छ । अहिंसा, प्रेम, दया, करुणा आदि यस धर्मका आभूषण हुन् । सबै धर्म, सम्प्रदाय प्रति तटस्थ एवं सद्भाव राख्छन्, उनीहरु । सम्पूर्ण जात जाति, वर्ण र वर्गहरुमा समतामूलक व्यवहार गर्ने प्रणामीहरुको सबल पक्ष हो ।

कृष्णप्रणामी धर्ममा आवद्ध भएकाहरु विश्वका धेरै कुनामा पुगिसकेका छन् । कृष्णप्रणामी धर्म मान्ने सबैभन्दा ठूलो संख्या भारतमा छन् । भारतमा करिब २५ देखि २६ लाखको हाराहारीमा कृष्णप्रणामीहरु रहेका छन् भने नेपालमा ५–६ लाखका हाराहारीमा रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?