काठमाडौं । धितोपत्र बजारमा मंगलवार शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ ।
शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २ सय ७९ दशमलव ९८ बिन्दुमा पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको हो ।
सोमबारको बिदा पछि खुलेको बजारमा एक अर्ब सात करोड ४२ लाख २८ हजार ३४ मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १सय ७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर कारोबार भएको हो । कारोवार रकम समेत अर्बमाथि पुगेपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ ।
‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.२५ बिन्दुले बढेर २७२.१६ बिन्दुमा पुगेको छ ।
स्टककाअनुसार बैंकिङ २९.३२, व्यापार २.७९, होटल २२.७८, विकास बैंक ३७.८२, जलविद्युत् ७.३४, वित्त ५.५९, निर्जीवन बीमा ६३.३८, उत्पादन १०.९४, माइक्रोफाइनान्स १०.४४, जीवन बीमा ३७.३६ बिन्दुले बढ्दा अन्य समूह भने १.४६ बिन्दुले घटेको छ ।
भार्गव विकास बैंक, सनराइज बैंक, प्रभु बैंकका लगानीकर्ताले आज बढी कमाएका छन् भने गुराँस फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया