काठमाडौं । बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकप फुटबलको लागि अहिले नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी शुरु गरिसकेका छन् ।
साविक विजेता नेपालले यसपाली बंगबन्धु गोल्डकप खेल्ने नखेल्ने निश्चित नहुँदा अन्तिम समयमा सहभागी हुने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जानकारी दिएको थियो ।
बंगलादेश फुटबल फेडेरेसनले ‘एन्फा’लाई दिनु पर्ने बाँकी पुरस्कार रकम नदिएको भन्दै प्रतियोगिता नखेल्ने बताउँदै आएको थियो । तर, बंगलादेश फुटबल फेडेरेसनले सो पुरस्कार रकम उपलब्ध गराएपछि एन्फाले नेपालको सहभागिता निश्चित गरेको थियो ।
यता, नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताए ।
छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वी रहेको समूहमा रहेको कारण नेपालले यसपाली बंगबन्धु गोल्डकपको दोस्रो चरणसम्म पुग्ने लक्ष्य बनाएको प्रशिक्षक महर्जनले जानकारी दिए ।
‘‘यसपाली हामीलाई पहिलेको तुलनामा भन्दा बढी चुनौती छ । यसपटक नेपाल कठिन समूहमा परेको छ, त्यसमा हामीसँग प्रयाप्त तयारी समय पनि छैन, तयारी पनि त्यति राम्रो छैन, डिफेन्डिङ च्याम्पियनको हैसियतले हामीले दोस्रो चरण सम्म पुग्ने लक्ष्य बनाएका छौँ’’ उनले लोकपथलाई भने ।
साथै, प्रशिक्षक महर्जनले यो प्रतियोगिताको उपाधि जित्ने प्रयास जारी राख्ने बताए । पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल आगामी अक्टोबर पहिलो साताबाट राजधानी ढाकामा शुरु हुँदैछ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ । नेपाल र ताजकिस्तानबीचको खेल भने अक्टोबर २ तारिखमा हुनेछ । त्यस्तै, समूहको दोस्रो खेलमा ६ तारिखमा अक्टोबर ६ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।
समूह ‘बी’ मा आयोजक राष्ट्र बंगलादेश, लाओस र फिलिपिन्स रहेका छन् । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान तय गर्नेछन् ।
नेपाली टोलीमा साफ खेलाडीकै बाहुल्यता
नेपाली टोलीमा साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता रहेको छ । जसमा दुई खेलाडी मात्र परिवर्तन भएका छन् ।
नेपाली टोलीमा पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द क्लब खेलका लागि नेपाल बाहिर छन् । गोल किपर किरण माल्दिभ्समा तथा रोहित इन्डोनेशियामा लिग खेलिरहेका छन् ।
तर, प्रशिक्षक महर्जनले दुई खेलाडीको अनुपस्थितिले टिमलाई असर नगर्ने बताए ।
‘‘सिनियर र प्रोफेसनल हिसाबले टिममा केही फरक पार्ला, तर असर भने पर्दैन । मैले यसपालीको टिममा किरण र रोहितको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङलाई समावेश गरिसकेको छु । आशा गरौँ बंगबन्धु गोल्डकपमा नेपालले राम्रो खेल खेल्नेछ’’
उनले थपे-‘‘साफ च्याम्पियनसीपको प्रदर्शनबारे समिक्षा र कमीकमजोरी सुधार गरेर यो च्याम्पियनसीपमा खेल्नेछौँ ।
यो पनि पढ्नुहोस्
बङ्गबन्धु गोल्डकप : बन्द प्रशिक्षण मंगलवारदेखि शुरु, किरण र रोहितको स्थानमा विशाल र तेज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया