लोकपथ टप फिप्टिन : नेपालकाे राजनीतिमा अपूरणीय क्षति, प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि

लोकपथ
70
Shares

१. नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि, गिरीको निधनमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने ।

२. आगामी निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छापिने, निर्वाचनमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान, उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने ।

३. पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका आयोजना सञ्चालनमा आजदेखि निर्वाचन आयोगले लगायो रोक, नयाँ योजना र कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने भएकाले रोक लगाइएको आयोगको भनाइ ।

४. एमाले सरकारमा आएपछि नागरिकता विधेयक सच्याउने नेकपा एमालेका सचिव योगेश भट्टराईको दाबी, वर्तमान सरकारले नागरिकता विधेयक संसदबाट बलपूर्वक पारित गरेको आरोप ।

५. अनावश्यक शुल्क नउठाउन सामुदायिक विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन, कानूनले निःशुल्क गरेको विषयमा अनेक बाहनामा शुल्क नलिन चेतावनी ।

६. चालू आर्थिक वर्षको पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारत निर्यात, विद्युत निर्यातबाट औसत दैनिक पाँच करोड ९३ लाख रुपैयाँ कमाइ ।

७. जिल्ला प्रशासन कार्यालय कालीकोटबाट जारी भएका दुई हजारभन्दा बढी नागरिकता प्रमाणपत्रमा त्रुटि, अंग्रेजी र नेपाली भाषा फरक पर्दा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या ।

८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र लुकाइएको एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै ।

९. कर्णाली प्रदेशको पदाधिकारी र कर्मचारीको वार्षिक खर्च १ अर्ब ४१ करोड, कर्मचारीहरुको पारिश्रमिकमा मात्रै १ अर्ब ५ करोड १४ लाखभन्दा बढी खर्च ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि, ४७९ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ पुग्यो ।

११. कारोबारको पहिलो दिन घट्यो सेयर बजार, नेप्से परिसूचक ७.७२ अंकले घट्दा २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच ।

१२. पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि स्याटेलाइट टेलिभिजन च्यानल र लाइभ प्रसारणमा प्रतिबन्ध, ‘हेट स्पिच’को आरोप ।

१३. भारतका विभिन्न राज्यहरुमा आएको बाढीमा परि ३२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता, ४ लाख बढी मानिस प्रभावित ।

१४. आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने, यसै महिना नेपाल आइपुग्ने ट्रफीसँग समर्थकहरुले तस्बिर खिच्न पाउने ।

१५. प्रिमियर लिगको राउन्ड ३ अन्तर्गतको फुटबल खेलमा आज न्यूक्यासल र म्यानचेस्टर सिटी भिड्दै, घरेलु मैदानको फाइदा उठाउदै बलियो टोलीविरुद्ध जित निकाल्ने दाउमा न्यूक्यासल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?