‘ए’ डिभिजन लिगमा विदेशी खेलाडीको वर्चस्व, २८ खेलाडीले खेल्दै

काठमाडौँ । यहि शनिवारदेखि काठमाडौंमा शुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिगको ९ क्लबबाट २८ विदेशी खेलाडीहरुले खेल्दै छन् । 

लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये ९ क्लबले विदेशी खेलाडीहरुलाई अनुबन्ध गरेका हुन्। तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् ।

लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका ५, आइभरीकोस्टका ४, गिनीका २ तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ‘ए’ डिभिजन लिगमा अनुबन्ध भएका हुन् । 

थ्रीस्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम ‘एनआरटी’, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ ।

उसले करिम मोहम्मद नुरुल ‘बङ्गलादेश’, सिल्ला सुलेमाने ‘गिनी’, फोफाना ब्राहिमान ‘आइभरीकोस्ट’ र ओडेह ओलुवासोगो ग्लोरी ‘नाइजेरिया’लाई क्लबमा भित्र्याएक हुन् । 

त्यस्तै, थ्रीस्टारले अजाइ मार्टिन्स ‘नाइजेरिया’ र पिटर सेगुन ‘नाइजेरिया’, मनाङ मस्र्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी ‘नाइजेरिया’, अदेलाजा सोमिडे ओलुवाउम्नी ‘नाइजेरिया’ र ओलादिपो अफिज ओलावाले ‘नाइजेरिया’ तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा ‘क्यामरुन’, अर्नेस्ट टाम्पी ‘क्यामरुन’ र म्याक्सेल इलोन ‘क्यामरुन’लाई टिममा अनुबन्ध गरेको छ ।

ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी ‘नाइजेरिया’, ताजुदिन अदेकुन्ले बुसारी ‘नाइजेरिया’ र अबु करिम हामद सिया ‘घाना’, हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो ‘बुर्किना फासो’, दादी जुनियर वाम्बा ‘क्यामरुन’ र प्याट्रिक प्रिभाट गोहा ‘आइभरीकोस्ट’रहेका छन् ।

त्यस्तैगरि जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल ‘नाइजेरिया’, अदामा डुम्बिया ‘माली’ र फोफाना फेडे ‘गिनी’, न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने ‘क्यामरुन’, मसुद ओपेएमी अग्बोला ‘नाइजेरिया’ र कुआसी जिन डिडियर इस्मेल योबोए ‘आइभरीकोस्ट’ र सरस्वती युवा क्लबले सोलो ‘नाइजेरिया’, कासी ‘नाइजेरिया’ र कुलिबाल ‘आइभरीकोस्ट’लाई क्लबमा भित्र्याएका छन् । 

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ‘ए’ डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ । तीन विदेशी खेलाडी अनुबन्ध गरेको अवस्थामा भने उक्त नियम लागू हुने छैन ।

राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले  ५० लाख, उपविजेताले  ३५ लाख, तेस्रोले २५ लाख, चौथो टोलीले  १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले पाँच लाख पुरस्कार पाउने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?