काठमाडौं । बलिउडमा पछिल्लो समय बायोपिक फिल्म निर्माणको क्रम बढेको छ । नेपालमा पनि केही बायोपिक फिल्म निर्माणका कोशिश भए । तर, ती फिल्मको मेकिङलाई दर्शकले खासै पत्याएनन् । फिल्ममेकरले बायोपिक फिल्मलाई विश्वसनीय बनाउन सकेनन् भन्दा अझ सहज रुपमा बुझिन्छ । मिलन चाम्स निर्देशित फिल्म ‘ब्लाइन्ड रक्स’ र या त साम्तेन भुटिया निर्देशित फिल्म ‘तान्द्रो’ नै किन नहोस् ।
निर्देशकले सङ्घर्षको कथा प्रस्तुत गर्न खोजेका थिए । तर कथाको प्रस्तुतीकरण नै कच्चा हुँदा दर्शकको दिल जित्नबाट दुवै फिल्म चुके ।
एउटा समानता के थियो भने, यी दुवै फिल्मले समाजलाई सन्देश दिन खोजेका थिए । मेकरले समाजमा सन्देश प्रवाह गर्न चलचित्रको माध्यम त छाने र चलचित्रलाई स्तरीय बनाउन सकेनन् ।
अहिले नेपाली सिनेमा क्षेत्रमा बहस हुन थालेको छ, फिल्म मनोरञ्जनका लागि बनाउने या सन्देशका लागि बनाउने?
यो बहसमा दुई धार छुट्टिन्छन् । फिल्म मनोरञ्जनको प्याकेज हो भन्ने एकथरी हुन्छन् भने अर्काथरीले सन्देश पनि दिनुपर्छ भनिरहेका हुन्छन् । फिल्मले जे कथा बोकेको होस्, तर फिल्म ‘फिल्म’ को मर्मअनुसार चाहिँ बन्नुपर्छ ।
छक्का पञ्जा, जात्रा, शत्रु गते जस्ता फिल्मले सन्देशलाई भन्दा बढी मनोरञ्जनलाई महत्त्व दिन्छन् । ‘छक्का पञ्जा’ का निर्माता दीपकराज गिरीले त एकपटक भनेका पनि थिए – ‘फिल्म बनाउने मनोरञ्जनका लागि हो, शिक्षा दिनलाई फिल्म कलेज होइन ।’
त्यसो त सिनेमा विश्वबजारमा आर्थिक, सामाजिक र मनोरञ्जन तीनै विधासँग जोडिएको कुरा हो । त्यसैले फिल्मलाई सन्देशको माध्यमका रुपमा मात्र हेरिँदैन । बरु फिल्मको माध्यमबाट सन्देश पनि दिन सकिन्छ है, भन्ने अर्थमा चाहिँ यो विधालाई हेर्न थालिएको धेरै भइसक्यो । यद्यपि नेपाली सिनेमामा सन्देशमूलक भनिएका फिल्ममा जबरजस्ती सन्देश थोपर्ने काम भइरहेको हुन्छ । नेपालको हिसाबमा कि त सन्देशमूलक फिल्म नै बनाइँदैनन्, बनाइन्छन् भने पनि धेरै ठाउँमा चुक्छन् फिल्मकर्मी ।
‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के खनाल समाजलाई सचेत बनाउन सिनेमा एकदमै सहज माध्यम भएको धारणा राख्छन् । उनको विचारमा यस्ता फिल्म नेपालमा बनिरहनुपर्छ किनकि, समाजलाई सचेत गराउने फिल्मको निकै आवश्यकता छ ।
‘समाजलाई सचेत बनाउने सिनेमा बनाउन जरुरी छ, धनपति पनि नैतिक रुपमा लोभ लालच त्याग्नुपर्छ भन्ने बुझाउन खोजिएको फिल्म हो’, उनी सुनाउँछन्, ‘पशुपतिप्रसाद बनाउँदा हामीले झण्डै घरखेत गुमाउनुपरेको थियो, सन्देश दिने खालका फिल्म बनाउन निकै रिस्क छ नेपालको परिवेशमा ।’
नेपाल बन्दका कारण नेपाली आजित भएका बेला दीपेन्द्र के. खनाल, खगेन्द्र लामिछाने लगायतले ‘धनपति’ बनाएका थिए । फिल्म त बन्यो, चल्यो तर सोचेजस्तो चलेन । निर्देशक खनाल भन्छन्, ‘सन्देशमूलक फिल्म बनाएर यत्रो हाइ रिस्क कसले लिने?, चलचित्र विकास बोर्डले एक रुपैयाँ पनि आर्थिक सहयोग गर्दैन, कहीँबाट सहयोग हुँदैन, कसरी बनाउने फिल्म?’
यस्ता सन्देशमूलक फिल्म बनाउनमा जोखिम त छ नै । अर्कातिर राज्यले यस्ता फिल्मलाई खासै महत्त्व दिएको पनि हुँदैन । बलिउडमै पनि फिल्म क्षेत्रलाई सन्देशको सशक्त माध्यमका रुपमा हेर्न थालिएको छ । राज्यले नै लगानी गर्न थालिसकेको छ । तर, नेपालमा त्यो अवस्था अझै छैन ।
‘फिल्म ‘चंगाचेट’ पछि म धन कमाउन हिँडेर अमेरिका जाने नेपालीको कष्ट र जोखिमका बारेमा फिल्म बनाउनका लागि अध्ययनमा लागिरहेको छु, यति अध्ययन गरेँ कि, किताब लेखेको भए दुईवटा दुई पुस्तक तयार हुन्थे’, खनाल सुनाउँछन्, ‘यो निकै जटिल विषय हो तर यसले लाखौँलाख खर्च गरेर अमेरिका जाने नेपालीको कथा बोल्छ, फिल्ममार्फत विदेश जाने नेपालीलाई रोक्ने बारेमा राम्रो म्यासेज दिन सकिन्छ ।’
नेपाली समाजमा सन्देशमूलक फिल्मको आवश्यकता देखेर खनालले मनोरञ्जनमूलक फिल्मसँगै सन्देश दिने खालका फिल्म बनाउन नछोड्ने पनि बताउँछन् ।
फिल्मका बारेमा बोल्दै आइरहेका मेकर मनोज पण्डित भने नेपाली फिल्म सन्देशमूलक बनाउन नहुने धारणा राख्छन् ।
‘हाम्रो सिनेमा उद्योगमा सन्देशमूलक फिल्मप्रतिको बुझाइ नै गलत छ, खासमा फिल्म मनोरञ्जनका लागि बनाउने हो, सन्देशमूलक बनाउनुपर्छ भनेर लाग्यो भने फिल्मको तत्त्व नै गुम्ने सम्भावना हुन्छ’,
पण्डित भन्छन्, ‘कुनै पनि फिल्ममेकरले सन्देश दिने उद्देश्यले फिल्म निर्माण गरेका हुँदैनन्, पात्रको कथा भन्छन्, फिल्मले तिनै पात्रका संघर्षका माध्यमबाट म्यासेज दिन्छन् ।’
पण्डितले भारतमा निर्माण भएका फिल्मको उदाहरण दिँदै भन्छन् – ‘सिक्रेट सुपरस्टार, थ्री इडियट्स, तारे जमिन पर, ट्वाइलेट एक प्रेम कथा जस्ता फिल्मले पनि सन्देश दिन खोजेका हैनन् । पात्रको सङ्घर्षको कथा भनेका हुन् । फिल्म हेरेर दर्शकले कस्तो किसिमको म्यासेज लिने भन्ने दर्शकको रोजाइ हो ।’
नेपालको परिवेशमा भने फिल्ममा सन्देशका नाममा फिल्म बनाउन खोज्दा उल्टो सिनेमाले आफ्नो लय गुमाउँदै जाने भय हुने पण्डितको धारणा छ ।
निकै लामो समयदेखि हास्यव्यङ्ग्यसँगै सन्देशमूलक टेलिफिल्ममा मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्दै आएका हरिवंश आचार्य भने फिल्मसँग लगानी पनि जोडिने भएकाले म्यासेजभन्दा पनि मनोरञ्जनका हिसाबले फिल्म निर्माण गरिने गरेको धारणा राख्छन् ।
पछिल्लो समय फिल्म ‘शत्रु गते’ मा अभिनयसँगै निर्माणमा समेत देखिएका हरिवंश आचार्यले यो फिल्मबाट मनोरञ्जनसँगै दर्शकलाई कुनै न कुनै म्यासेज दिन खोजेको बताउँछन् ।
‘टेलिफिल्ममा खासै लगानी हुँदैन, यस्ता कार्यक्रममा जोखिम कम हुन्छ किनकि, यी श्रङ्खला सीधै टेलिभिजनमा प्रसारण हुन्छन् र दर्शकमाझ पुग्छन् तर फिल्म चाहिँ हलमा चलाउनुपर्छ, दर्शकको मन जित्ने हुनुपर्छ’, आचार्य सुनाउँछन्, ‘हामीले ‘शत्रु गते’ बाट पनि मनोरञ्जनका साथसाथै म्यासेज दिन खोजेका थियौँ, मधेशी समुदाय र पहाडी समुदायको सम्बन्ध र युट्युबबाट पैसा कमाउने उद्देश्यले अरुले कसरी व्यक्तिगत जीवनमा असर पार्छ भन्ने देखाउन खोजेका छौँ ।’
त्यसो त धेरै फिल्म मनोरञ्जन र पैसा कमाउने उद्देश्यले बने पनि नेपालमा सन्देशमूलक फिल्म बन्दै नबनेका होइनन् । फिल्म विद्यालय या शैक्षिक साम्रगी नभएकाले फिल्मले म्यासेज दिनुपर्छ भन्ने कतिपयले भन्दै आए पनि एकथरी भने फिल्मको भाषामा मनोरञ्जनसँगै सन्देश पनि हुनुपर्छ भनेर त्यसरी नै फिल्म निर्माण गर्दै आएका छन् ।
फिल्मको भाषामा रहेर जुनसुकै स्वादका फिल्म निर्माण गरिए पनि फिल्ममार्फत दर्शकलाई आफ्नो धारणा बुझाउन सक्ने सशक्त माध्यमका रुपमा पनि यो क्षेत्रलाई लिन सकिने कतिपयको धारणा छ । कतिपय फिल्मकर्मी भन्छन् – सिर्जनामा माटोको गन्ध चाहिँ आउनुपर्छ । सिनेमाको मर्मअनुसार दर्शकमा अपनत्वको सन्देश दिने फिल्म बनाउन सकियो भने त्यो प्रभावकारी बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया