डा. अवशेष भण्डारी
हेपाटाइटीसबारे आमबुझाई भनेको कलेजो सुन्निनु हो । कुनैपनि कारणले कलेजो सुन्निएर त्यसबाट देखिने लक्ष्यणहरुबाट आएको संकेतलाई हामी हेपाटाइटिस भन्छौं । यसमा किन र कसरी हुन्छ भन्ने कुरालाई बुझ्नका लागि मुख्यतः दुईवटा कुरालाई ध्यान दिनुपर्छ ।
हेपाटाइटिस मूख्यतया दुई किसिमको हुने गर्दछ । पहिलो भाइरल हेपाटाइटिस दोस्रो खाना वा औषधि सेवनका कारण हुने हेपाटाइटिस ।
भाइरल हेपटाइटिस जो फोहोर खाना र दूषित खानेपानीबाट सर्छ । अहिलेको मौसममा हेपाटाइटिसका बिरामी बढ्ने सम्भावना धेरै हुन्छ । सहर बजारमा फोहोर थुप्रिरहेका छन् । यसले पनि हेपाटाइटिसको जोखिम बढाउँछ । जसबाट हेपाटाइटिस ‘ए’ र ‘ई’ फैलन्छ । जसलाई भाइरल हेपाटाइटिस भनेर बुझिन्छ । यो हेपाटाइटिस विशेषगरी बालबालिकाहरुलाई बढी हुने गर्छ र कहिलेकाँही वयस्कमा पनि देखिन सक्छ ।
त्यसैगरी, हेपाटाइटिस ‘बी’ र ‘सी’ पनि भाइरल नै हो । यो चाहिँ विशेषगरी धेरैजना मानिससँग शारीरिक सम्पर्क राख्ने, संक्रमित आमाबाट जन्मिएका बच्चा र संक्रमितलाई प्रयोग गरिएको भ्याक्सिन प्रयोग गरेको अवस्थामा बी र सी हुन सक्छ ।
सिटामोलको अधिक सेवनले पनि गराउँछ हेपाटाइटिस !
हेपाटाइटिस विभिन्न कारणले हुनेगर्छ । यो मध्येको कारण हो– लागूऔषध दुव्र्यसनी, औषधि सेवनले पनि हेपाटाइटिस गराउँछ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने हामीहरु सामान्य टाउको वा ज्वरो आउँदा पारासिटामोलको प्रयोग गर्छौं । तर, यो दिनमा आठ ग्रामभन्दा बढी सेवन गर्ने मानिसलाई हेपाटाइटिस हुने सम्भावना बढी हुन्छ ।
साथै, नियमित रक्सी सेवन गर्ने मानिसले चार ग्रामभन्दा बढी सिटामोल सेवन गर्दासमेत हेपाटाइटिस हुने सम्भावना बढी हुन्छ । जसलाई ड्रग्स हेपाटाइटिस वा सिटामोलले हुने हेपटाइटिस भनेर बुझ्न सकिन्छ ।
अर्को प्रमुख कारण टुबरक्लोसिस (टिबी)को औषधि (आईसोनियाजिड र रिफाम्पिन) साइडइफेक्ट भनेको हेपटाइटिस हो । त्यसैले यो औषधि सेवन गर्दा नियमित रुपमा कलेजोको जाँच गर्नु आवश्यक हुन्छ ।
जडिबुटीले पनि निम्त्याउँछ हेपाटाइटिस
कोरोना महामारीसँगै जडिबुटीको प्रयोग निकै बढ्यो । त्यो पनि सम्बन्धित चिकित्सकको सल्लाह बिनै । अनि, आयुर्वेदिकका नाममा जडिबुटी बेच्ने हाम्रा सहर बजामार थुप्रै छन् । बिना लाइसेन्स बेचिने जडिबुटी औषधिको गुणस्तरीय हुँदैन । जसले हेपाटाइटिसको जोखिम बढाउँछ । त्यसैले लाइसेन्स प्राप्त चिकित्सकरुको सल्लाहमात्र आयुर्वेदिक औषधि सेवन गर्नुपर्छ ।
साथै, कोरोनाकै बेलामा गुर्जो निकै चर्चामा छायो । यसको पनि असन्तुलित सेवनले हेपाटाइटिस हुने सम्भावना बढी हुन्छ । त्यतिबेला गुर्जोको अत्याधिक सेवनले धेरैजनामा हेपाटाइटिसको समस्या देखिएको थियो ।
हेपाटाइटिसका लक्षण
- खानामा अरुची हुनु
- वान्ता आउनु
- वाक वाकी लाग्नु
- दाइने कोखा दुख्नु
- बिस्तारै ज्वरो आउनु
- आँखा र शरीरहरु पहेँलो हुनु
- रगत पातलो हुनु
- सामान्य चोटपटक लाग्दा पनि धेरै रगत बग्नु
- लामो समयसम्म रगत नरोकिनु
- बेहोस हुनु
कस्ता मानिसमा हुन्छ हेपाटाइटिस ?
हिजोआज जो कोहीलाई पनि हेपाटाइटिस हुनसक्छ । किनकी हामीले सेवन खानादेखि पानीसम्म दूषित हुन थालेका छन् । हामीले माथि नै चर्चा गरिसक्यौं कि दूषित खाना र पानीबाट हेपाटाइटिस ‘ए’ र ‘ई’ हुन्छ ।
त्यस्तै, चटपटे, पानीपुरीजस्ता खानेकुराले पनि यसको जोखिम बढाउँछ । त्यसैगरी, असुरक्षित यौन सम्पर्क, एउटै सुई सेयर गर्ने अथवा हेपाटाइटिस संक्रमित आमाबाट जन्मिएका बच्चाहरुमा पनि हेपाटाइटिस सर्ने सम्भावना उत्तिकै हुन्छ ।
यसरी, हेपाटाइटिस बढ्दै गएमा रगतमा बिलिरुविनको मात्रा बढ्दै यसले जण्डिसको खतरा हुन्छ ।
कसरी बच्ने ?
धेरैजसो हेपेटाइटिसको आफैं संक्रमण कम भएर जान्छ । यसलाई केही हदसम्म समय लाग्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएका मानिसहरुलाई औषधि चलाउनुपर्ने आवश्यकता हुँदैन ।
यदि कसैलाई औषधि चलाइएको छ भने त्यो रोगको सांकेतिक लक्षणहरु कम गर्नलाई मात्र चलाइएको हुन्छ । जस्तै, वान्ता धेरै भएमा वान्ता रोक्न, ज्वरो आएकोमा सिटामोल दिने, जण्डिस भएकोलाई जण्डिस कम गर्ने औषधी दिने त्यो भन्दाबढी कुनै औषधि दिनु पर्दैन ।
सामान्यता यो एक हप्तादेखि दुई हप्ताको बीचमा आफैँ कम भएर जान्छ र विस्तारै मानिसमा यसको सुधार हुँदै जान्छ । त्यसैले हेपटाइटिस हुने बित्तिकै आत्तिनु पर्दैन् । लक्षणलाई रोक्ने सामान्य औषधी बाहेकका औषधि प्रयोग नगर्न सुझाव दिन्छु ।
केही मानिसहरु हेपाटाइटिस हुने बित्तिकै आत्तिएको पाउँछु । तर, आत्तिनुपर्दैन । यदि खाना खान नसक्ने, निरन्तर वान्ता भइरहने, चक्कर लागिरहेको छ भने स्लाइन औषधि दिएर उपचार गर्नु राम्रो हुन्छ ।
त्यसैले यसबाट बच्ने उपाय भनेको पानी उमालेर मात्र पिउने, बासी खाना नखाने, असुरक्षित यौनसम्पर्क नगर्ने, धुम्रपान, मद्यपान नगर्ने, निडलको पुनःप्रयोग नगर्ने नै हो ।
(डा. भण्डारी पेट तथा कलेजो रोग विशेषज्ञ हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया