काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १० औं वार्षिकोत्सवको उपलक्ष्यमा कालिमाटीस्थित जन प्रभात माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ र हरियालीका लागि दिगो जीवन र व्यक्तिगत जिम्मेवारी प्रवद्र्धन गर्ने उद्देश्यले रुख र फूलसहित २ सय ५० भन्दा बढी बिरुवा रोपिएको थियो ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, जन प्रभात माविका विद्यार्थी लगायत करिब ९० जनाको सहभागिता थियो । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा समाजको हितलाई प्रवद्र्धन गर्ने उदेश्यले अन्य गतिविधिहरु पनि योजना बनाएको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेडको ५१ प्रतिशत सेयर रहेको सहायक कम्पनी हो । सामूहिक लगानी कोष नियमावली २०६७ अन्तर्गत म्युचुअल फण्ड सञ्चालन गर्ने पहिलो कम्पनी बनेको सिद्धार्थ क्यापिटल लिमिटेडले २८ सेप्टेम्बर २०१२ मा औपचारिक रुपमा आफ्नो व्यवसाय सुरु गरेको हो ।
देशमा उद्योग स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेको कम्पनीले आफ्नो सञ्चालन र नविन सेवाहरु मार्फत नेपाली जनताको समृद्धिमा विगत १० वर्षदेखि विशेष यागदान पुर्याउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया