काठमाडौं । यहि शनिवारबाट काठमाडौंमा शुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिगको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जानकारी दिएको छ ।
‘एन्फा’ले प्रतियोगिताको सबै तयारी पूरा भएको लोकपथलाई जानकारी दिए। पाँच वर्षपछि सञ्चालन हुन लागेको लिगको उद्घाटन खेलमा न्युरोड टिम 'एनआरटी' र विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएको छ ।
यी दुई क्लबबीचको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । दिउसो ३ बजेपछि शुरु हुने खेल अगाडि ४५ मिनेटको सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको पनि 'एन्फा'ले जानकारी दिए ।
त्यस्तै, उद्घाटन कार्यक्रममा ‘फिफा’को दक्षिण एशिया क्षेत्रिय विकाश अधिकारी प्रिन्स रफस पनि आउने ‘एन्फा’ले जानकारी दिएको हो ।
आइतवार संकटाले र सरस्वती क्लबको सामना गर्नेछ । ‘ए’ डिभिजन लिगको दुई खेल प्रश्चात लिग अनिश्चित समयको लागि स्थगित हुने पनि ‘एन्फा’ले जानकारी दिएको हो । बंगलादेशमा हुने बंगबन्धु गोल्डकपमा नेपालले खेल्ने भएपछि लिगको अनिश्चित समयको लागि रोकिने एन्फा प्रवक्ता किरण राइले बताए ।
साथै, उनले लिगको अर्को सुचना निकालेर मात्र पुनः सञ्चालन हुने लोकपथलाई जानकारी दिए । रेलिगेशन विना शुरु हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागी छन् ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल खेल्नेछ भने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ जित्नेछ ।
साथै, उपाधि विजेता क्लबले ‘एएफसि एशियन कप फुटबल’मा सहभागी हुने मौका पाउनेछ । त्यस्तै, उपविजेता क्लबले ३५ लाख तथा तेस्रो हुने क्लबले २५ लाख रुपैयाँ हात पार्नेछ । लिगको माघ १६ गतेसम्म चल्नेछ ।
कुन मैदानको कति दर्शक क्षमता र टिकटको मूल्य ?
पाँच वर्षपछि शुरु हुन लागेको ‘ए’ डिभिजन लिग हेर्न आउने दर्शकको लागि टिकटको मुल्य निर्धारण गरेको छ ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले फुटबल हेर्न आउने दर्शकको टिकट मूल्य तोकेको छ । ‘एन्फा’ले सामान्य प्याराफिटतर्फ २ सय टिकट मूल्य तोकेको छ भने, भीआईपी प्याराफिटतर्फको टिकट मूल्य ५ सय राखेको छ ।
यता, हल्चोकस्थित शसस्त्र प्रहरीको एपीएफ मैदानको टिकट मुल्य भने २ सय मात्र तोकेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा २५ सय दर्शक अटाउने छन् ।
हल्चोक मैदानमा भने ११ सय मात्र दर्शक अट्ने अस्थाई प्याराफिटको निर्माण गरिएको ‘एन्फा’ले जानकारी दिएको छ ।
दुई खेलपछि लिग स्थगित
बंगलादेशमा आगामी अक्टोबर १ तारिखदेखि शुरु हुने बंगबन्धु गोल्डकपको लागि नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुले तयारीलाई तीव्र बनाएको छ ।
राजधानी ढाकामा हुने बंगबन्धु गोल्डकपलाई मध्यनगरमा राख्दै खेलाडीहरुले तयारीलाई तीब्रता दिएका हुन् । अहिले खेलाडीहरु हल्चोकस्थित एपीएफको मैदानमा नियमित अभ्यास गरिरहेका छन् ।
बंगबन्धु फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।
समूहमा ताजकिस्तानविरुद्ध पहिलो खेल खेल्दै नेपालले खेलको शुरुवात गर्नेछ भने दोस्रो खेलमा प्यालेस्टाइनसँग खेल्नेछ । ताजकिस्तानविरुद्ध अक्टोबर २ र प्लायलेस्टाइनविरुद्ध अक्टोबर ६ तारिखमा खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया